शीतलहरको कहर कठ्याङ्ग्रिएर एकको मृत्यु



टीका बन्धन, काठमाडौं
हरेक वर्षको मध्य हिउँदमा दोहोरिने शीतलहरको प्रभावले यसपटक पनि तराईको जनजीवन प्रभावित बनाएको छ। कठ्याङ्ग्रिँदो जाडोले अन्यत्रभन्दा भारतसँग सीमा जोडिएका दक्षिणी भेगका बस्तीको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ।

स्थानीय प्रशासनले जाडोबाट बच्न स्थानीयलाई बाक्लो लुगा लगाउन, आगो ताप्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आह्वान गरे पनि राहतका कार्यक्रम अघि सारेको छैन। तर, गृह मन्त्रालय यो विषयमा गम्भीर रहेकाले आवश्यकताअनुसार तत्काल समस्या सम्बोधनमा जुट्ने सो मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दवाडीले बताउनुभयो।

यही महिनाको पहिलो साता कपिलवस्तुको चन्द्रौटामा जाडोले कठ्याङ्ग्रिएर एक अपरिचित व्यक्तिको निधन भएको थियो। अन्यत्रबाट यस्तो खबर नआएको दवाडीले बताउनुभयो। धेरै दिनसम्म घाम नलाग्नु, निरन्तर बाक्लो कुहिरो लाग्नु, पानी परेझैं शीतका थोपा खस्नु, कठ्याङ्ग्रिने गरी जाडो हुनु नै शीतलहरको संकेत हो। तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले भने यस वर्ष अझै औपचारिकरूपमा शीतलहर शुरू भएको घोषणा गरेको छैन।

बाक्लो हुस्सु र कुहिरोले तराईका धेरै भू–भाग ढाके पनि धेरै ठाउँको मौसम अपराह्नको समयमा खुल्ने गरेकाले शीतलहर भन्न नमिल्ने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो। ‘यो हप्ता केही बढी ‘थिक फग’ (बाक्लो कुहिरो) लागेको छ, तर गत साता खासै थिएन, मौसम धुम्मिने र खुल्ने क्रम जारी छ’, उहाँले भन्नुभयो– ‘निरन्तर ४८ घण्टा वा सोभन्दा बढी समयसम्म घाम नदेखिने अवस्था बन्यो भने मात्र शीतलहर मान्ने गरिन्छ।’ पौडेलका अनुसार निरन्तरको बाक्लो हुस्सुसँगै औसत तापक्रमसमेत एकैदिनमा १० डिग्रीको हाराहारीमा झरेको अवस्थामा मात्रै शीतलहर घोषणा गर्ने गरिन्छ।

महाशाखाले हरेक वर्ष अंग्रेजी महिनाको डिसेम्बर पहिलो सातादेखि हरेक दिन बिहान हुस्सु र कुहिरोको अवस्था जानकारी गराउँदै आएको छ। सो निकायका अधिकारीहरूका अनुसार नेपाललगायतका अन्य विकसित मुलुकमा पनि शीतलहरको प्रभाव अध्ययन⁄अवलोकन गर्न स्याटेलाइट तस्वीरको सहयोग लिने प्रचलन छ। शीतलहरको प्रभाव कस्तो हुने, कति लामो अवधिसम्म रहन सक्छ भनेर पूर्वानुमान गर्ने उपकरण र संयन्त्र महाशाखामा छैन। त्यस्तो प्रविधि र यन्त्र विकसित मुलुकहरूमा अभ्यासमा नरहेको मौसमविद्हरू बताउँछन्।

तर, विगतको अवस्थालाई नियाल्दा सन् १९९८ र २००५ मा नेपालको तराई भेग निरन्तर ३ सातासम्म शीतलहरको प्रत्यक्ष प्रभावमा परेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ। यसपटकको मध्य हिउँदे अवधि अझै बाँकी रहेकाले शीतलहरको प्रभाव बल्झिने सम्भावना उच्च रहेको मौसमविद् पौडेलको अनुमान छ। उहाँले प्रस्ट्याउँदै भन्नुभयो– ‘अहिले वायुमण्डलमा जलवाष्पयुक्त हावा न्यून भएकाले खासै ठूलो प्रभाव देखिएको छैन, तर पश्चिमी वायुले जलवाष्पयुक्त हावा भित्त्यायो भने बाक्लो हुस्सु र शीतलहर चल्न सक्छ।’ तत्कालै त्यस्तो सम्भावना नरहे पनि माघ दोस्रो सातासम्ममा त्यस्तो संकेत विकास हुन सक्ने पौडेलको अनुमान छ।

भारतसँग सीमा जोडिएका तराईका भेगमा सन् १९९० पछि शीतलहरको प्रभाव देखिन थालेको हो। गंगा नदी र यसका सहायक नदी, सिँचाइ नहर, औद्योगिक करिडोर र आसपासमा बढ्दो प्रदूषणको कारणले शीतलहरको प्रभाव बढ्न थालेको विज्ञहरू बताउँछन्। नेपाल, भारत र बंगलादेशको ‘इन्डोगङ्गेटिभ रेन्ज’ मा शीतलहरको प्रभाव दोहोरिने गरेको उनीहरूको तर्क छ। भारतसँग सीमा जोडिएको तराईको भू–भाग, भारतको विहार, उत्तर प्रदेश, दिल्ली, हरियाणा र बंगलादेशसम्म हरेक वर्ष यस्तो प्रभाव दोहोरिने गर्छ।

प्रतिक्रिया दिनुहोस्