वडा सचिवले गरे दुई करोड हिनामिना



गोरखा । दुई वटा गाउँ विकास समितिका सचिवको जिम्मा पाएका दीपकबहादुर दर्जी सामाजिक सुरक्षा भत्तावापतको दुई करोड रुपैँयाभन्दा बढी रकम बेरुजु राखेर सम्पर्कविहीन भएका छन् ।

साविक हंशपुर र मुच्चोक गाविसमा सचिव रहेका दर्जीले बैंक खाताबाट रकम झिकेको भए पनि सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको पाएपछि उनको खोजी शुरु भएको छ । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा दर्जीले भुक्तानी गरेको रकमका बिल तथा भरपाइ महालेखा परीक्षकको कार्यालय काठमाडौँले लेखा परीक्षणका क्रममा फेला नपरेपछि सचिव दर्जीका नाममा बेरुजु देखिएको हो ।

हंशपुरका वडाध्यक्षसँग तीन दिनको घरबिदा लिएका सचिव दर्जी पाँच महिना बित्दासमेत कार्यालय फर्केका छैनन् । दर्जी साउन ३ गते कार्यालयबाट घरबिदामा गएका थिए ।

स्याङ्जाको साविक रापाकोट गाविस–२ खेवाङ घर भएका दर्जीको दरबन्दी इलाका हुलाक कार्यालय सौरपानी गोरखामा थियो । २०७० पुस १९ गते खरिदार पदमा नियुक्त उनलाई हुलाक सेवामा कार्यरत रहँदै गर्दा मुच्चोक र हंशपुर गाविस हेर्नेगरी सचिवको जिम्मेवारी दिइएको थियो ।

स्थानीय विकास अधिकारी नारायण आचार्यले वडासचिव दर्जीको नाउँमा बेरुजु देखा परेकाले खोजी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्