देउवा-दाहाल भेटवार्ता: के भयाे कुराकानी ?



काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टीकाे सचिवालय  बैठकपछि प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन ।

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुख तोक्ने लगायतका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीलार्इ ध्यानाकर्षण गराएका छन् । दाहालले सरकार र निर्वाचन आयोगकाे कारण नयाँ सरकार गठनमा ढिलाइ भएको  भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन र प्रदेश प्रमुख तोक्ने बारेमा मंगलबारदेखि राजनीतिक दलहरुसँग परामर्श थालेका छन् । प्रधानमन्त्रीले बिहान नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारीहरुसँग छलफल गरेका थिए । परामर्शकै क्रममा बुधवार बिहान नेकपा एमालेका अध्यक्ष के.पी ओलीसँग छलफल गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र समाजवादी संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल तयारी भइरहेको प्रेस संयोजक परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्