बुद्ध जन्मथलोको भ्रम चिर्दै विश्व कीर्तिमान राखिने



नेपाल समाचारपत्र, काठमाडौं । बुद्ध जन्मस्थलबारे पटक–पटक दोहोरि रहने भ्रम चिर्ने उद्देश्यका साथ काठमाडौंमा विशाल जमघट हुने भएको छ । करिव ७५ हजार व्यक्तिको जमघटका वीच विश्व कीर्तिमान समेत राख्ने योजना अघि सारिएको छ ।

विश्व कीर्तिमानी परिषद् नेपालको पहलमा आगामी माघ २७ गते टुडिखेल मैदानमा बुद्धको उपदेश र वचन ‘धम्मपद’ सामुहिक रुपमा वाचन गरेर कीर्तिमान राख्ने लक्ष्य अघि सारिएको हो । धम्पदलाई नेपाली अनुवाद गरेर आम नेपालीले बुझ्नेगरी सामुहिक रुपमा वाचन गरिने परिषद्ले जनाएको छ ।

इशाई धर्मावलम्बीहरुको मुख्य धार्मिक ग्रन्थ वाइवलपछि धम्मपद सबैभन्दा वढी भाषामा अनुवाद गरेर विक्री भएको बताइन्छ । बुद्धमार्गीहरुको मुख्य धार्मिक ग्रन्थ त्रिपिटकका विभिन्न ३ अंगमध्ये सबैभन्दा महत्वपूर्ण अंगका रुपमा धम्मपदलाई लिइने गरिन्छ । पाली लिपीको धम्मपद यस अघि नै नेपालीमा अनुवाद भइसकेकाले आयोजकलाई सहज हुनेछ । धम्मपद नेपाल भित्र नेपाली, नेपाल भाषा, मैथली र थारु भाषामा अनुवाद भइसकेको छ ।

बुद्धजन्म स्थलबारेको भ्रम चिर्ने कार्यक्रमको नाम ‘वुद्ध वर्न इन नेपाल’ राखिएको छ । यो कार्यक्रमको तयारीमा जुटेको परिषद् विभिन्न विधा र शीर्षकमा विश्व कीर्तिमान राखेका नेपालीहरुको संस्था हो । नेपालका पूर्व प्रधानमन्त्रीहरु केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्द र खिलराज रेग्मी यो कार्यक्रमका संरक्षक रहनु भएको छ । सो कार्यक्रममा ७५ हजार व्यक्ति सहभागी हुन सक्ने गरीको सिट क्षमताको व्यवस्था गरिने परिषद्ले दावी गरेको छ ।

यही कार्यक्रमका लागि गिजिज बुक अफ वल्ड रेकड्स मुख्यालय बेलायतको लन्डनबाट २ जना प्रतिनिधि र निर्णायक नेपाल आउने कार्यक्रम आयोजक समितिका अध्यक्ष दीपक शर्मा बजगाईँले जानकारी दिनुभयो । ‘हाम्रो तयारी अनुसार यो कार्यक्रमबाट नेपालले विश्व कीर्तिमानको रेकर्ड राख्ने छ, बुद्धजन्म स्थलबारेको भ्रम चिर्न सघाउ पुग्नेछ’–उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सफल बनाउन आवश्यक आर्थिक र प्राविधिक सहयोग जुटाउन सररकार सहित विभिन्न संघ÷संस्था र आम सर्वसाधारणलाई अपिल गरिएको बजगाईले बताउनुभयो । यस अघि ठूलो जमघट र सामुहिक सहभागिताको विश्व कीर्तिमान भारतले राखेको छ । सन् २०१४को फेब्रुअरी २ तारिखमा ४६ हजार ६ सय ६० जनाको सहभागितामा १६ औं शताब्दिका कवि पोथानमद्दारा रचित ‘जानपना’ नामक कविता सामुहिक रुपमा वाचन गरेर भारतले यस्तो कीर्तिमान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्