जिल्ला कारागारमा न्यायाधीश पुगेपछि कैदी बन्दी दङ्ग



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको जिल्ला कारागार भित्र अनयासै जिल्ला न्यायाधीश सहित जिल्ला अदालतमा मुद्दासम्बन्धि काम गर्ने व्यक्तित्वहरू सहित पत्रकारहरूको लर्कन पुगेको देख्दा त्यहाँ रहेका थुनुवा तथा कैदी बन्दीहरू दङ्ग परे । जिल्ला अदालतबाट कारागारमा रहेको कैदी बन्दीका लागि ‘न्यायिक संवाद’ कार्यक्रम सञ्चालन गर्न पुग्दा त्यहाँ रहेको थुनुवा तथा र्कैदी बन्दीहरू आश्चर्यचकित भएका हुन् ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त न्यायिक संवाद कार्यक्रममा उहाँले अदालतलाई हाउगुजीका रुपमा लिने तथा न्यायाधीशलाई खोपाको देउताजस्तो ठान्ने सोच तथा जमाना अब नरहेको बताउनु भयो । उहाँले न्यायको पहुँच सर्वसाधारणमा सहज रूपमा पु¥याउनका लागि सर्वोच्च अदालतबाट घोषित नीति तथा योजना अनुसार यो कार्यक्रम गरिएको बताउनु भयो । जनस्तरका विभिन्न क्षेत्रमा गरिने यस्ता कार्यक्रम एक वर्षमा चारवटा हुने र यो दोस्रो कार्यक्रम हो उहाँले भन्नुभयो । उहाँले कारागारका सहभागीहरूले मुद्दा ढिला फैसला भयो भन्ने बारेमा राखेका जिज्ञासाको जवाफ दिदै विगतका दिनमा स्थानीय तहका साथै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कार्यक्रममा व्यस्त हुनुपरेका कारणले गर्दा केही मुद्दाको टुं्रगो लाग्ने काममा ढिला हुन गएको अनुभूति भएको छ तर अब त्यसले निकट भविष्यमै गति लिन्छ भन्नुभयो ।
जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले उक्त कार्यक्रमको उद्देश्य तथा औचित्यमा प्रकाश पार्नु भएको थियो । उहाँले न्यायिक संरचना, न्यायिक प्रकृति तथा न्यायिक प्रणालीका बारेमा जानकारी दिनु भएको थियो । उहाँले कार्यक्रममा जातीय, लैंगिक तथा समाजमा द्वैष बढाउने विषयवस्तु, कुनै विचाराधिन मुद्दा, व्यक्तिगत आक्षेप तथा राजनीतिक विषयवस्तुमा छलफल नहुने बताउनु भयो ।
सो अवसरमा जिल्ला न्यायाधिवक्ता पदमप्रसाद पौडेलले के कस्ता मुद्दा सरकारवादी हुन्छन् ? भन्ने जानकारी दिनुहुँदै ती मुद्दाको अनुसन्धान, अभियोजन आदिका बारेमा प्रकाश पार्नु भएको थियो । यसैगरी, वैतनिक वकिल समेत रहनु भएका वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेलले वैतनिक वकिलको काम, कर्तव्य तथा जिम्मेवारी र दायित्वका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले सरकारले सर्वसाधारणसम्म न्यायको पहुँच पु¥याउनका लागि वकिलकामार्फत मुद्दा गर्न नसक्ने दीनदुःखीहरू अन्याय नपरुन् भनेर सरकारले वैतनिक वकिलको व्यवस्था गरेको जानकारी दिनु भयो ।
नेपाल बार एसोसिएसन, जिल्ला अदालत बार एकाईका उपाध्यक्ष बुद्धिसागर बरालको अध्यक्षताभयको कार्यक्रमको सञ्चालन जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले गर्नु भएको थियो । सो अवसरमा भएको उक्त कार्यक्रममा केही थुनुवा तथा कैदी बन्दीहरूले प्रहरी कष्टडीमा रहँदा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितका कागजात नपाएको गुनासो गरेका थिए भने केहीले पुनरावेदनमा विचाराधिन मुद्दाको स्थिति बुझिदिन अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्