हात्तीको दन्तको कारोबार प्रतिबन्धित



बेइजिङ, (एजेन्सी)
विश्वमै हात्तीको दन्तको सबैभन्दा ठूलो बजारको रूपमा चिनिँदै आएकोमा सन् २०१८ देखि यसको व्यापार र हात्तीको दाँतबाट उत्पादित वस्तुहरू अवैध ठहर हुनेभएको छ। विश्वमा हात्तीको जनसंख्या जोगाउने प्रयासस्वरूप उठाइन लागेको चीनको यस कदम सबै क्षेत्रबाट प्रशंसित भएको छ।

वन्युजन्तु अभियन्ताहरूका अनुसार प्रत्येक वर्ष ३० हजार वटा हात्ती अफ्रिकी शिकारीहरूको हातबाट मर्ने गरेका छन्। यसै गरी चीनको आधिकारिक सरकारी समाचार निकाय सिन्ह्वाले विगत एक वर्षयता कच्चा हात्तीको दन्तको मूल्यमा तुलनात्मकरूपमा ६५ प्रतिशतले कमी आइसकेको जनाएको छ।
सिन्ह्वाकै अनुसार चीनमा अवैधरूपमा भित्रिने हात्तीको दन्तको बरामदमा पनि ८० प्रतिशतले कमी आउन थालेको छ। सरकारद्वारा गतवर्ष घोषित यो प्रतिबन्द सन् २०१७ को अन्तिम दिन आइतबारदेखि कार्यान्वयन भएको हो।

सन् २०१७ को मार्च महिनातिरै हात्तीको दन्तसँग सरोकार राख्ने ६७ वटा आधिकारिक कारखाना र पसलहरू बन्द भइसकेको सिन्ह्वाले जनाएको छ। बाँकी १ सय ५ वटा आइतबारसम्ममा बन्द गरिने बताइएको थियो। चीनको वन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अबदेखि यसको कारोबारलाई गैरकानुनी ठहर्याइने जनाइसकेको छ। प्रकृतिका लागि विश्व वन्यजन्तु कोषले यस कदमको स्वागत गरेको छ।

प्रतिक्रिया दिनुहोस्