बिन लादेनका नाति मारिए



पेरिस, (एजेन्सी)
कट्टरपन्थी संगठन अल कायदाका एक जिहादीले ओसामा बिन लादेनका १२ वर्षीय नाति ओसामा बिन हमजा बिन लादेनको हत्या भएको जानकारी दिएका छन्।

पाकिस्तान–अफगानिस्तान सीमामा भएको एक हवाई आक्रमणमा मारिएको बताइएको छ। उनका पिता हमजा बिन लादेनले आफ्ना परिवारलाई पठाएको पत्रमा उक्त मृत्युका विषयमा घोषणा गरिएको न्यु अरब वा अल अराबी अल जादिद न्युज वेबसाइटमा उल्लेख गरिएको छ। अल कायदाका अनलाइन प्रयोगकर्ताहरूबीच यस विषयमा पत्रचार भइरहेको जनाइएको छ।

उच्च पदस्थ अनलाइन जिहादी अल वसिक विल्लाहले ३१ डिसेम्बरमा म्यासेजिङ एप टेलिग्राममा ओसामा बिन लादेनका नातिको मृत्यु भएको समाचार दिएको थियो। त्यसलाई अलकायदाका वरिष्ठ नेता साहबल अल हुक्मासहित अन्य कैयौं प्रमुख अल कायदा समर्थकले पनि टेलिग्राममा उक्त जानकारी सार्वजनिक गरेका छन्।

अल वसिकले ओसामा बिन लादेनका नातिको हत्या कसरी र कहाँ भयो भन्ने विषयमा कुनै जानकारी दिएको छैन। तर अर्को एक अलकायदा समर्थक अबु खल्लाद अल मुहनदिसले उक्त बच्चाको हत्या रमजानको महिनामा भएको बताएका छन्। रमजान मे २६ देखि जुन २४ सम्म मनाइएको थियो।

अबु खल्लाद अल मुहनदिसले उक्त बच्चाकी आमा र परिवारलाई लेखिएको एक पत्र पनि जारी गरिएको छ। उक्त पत्र पनि हमजा बिन लादेनद्वारा लेखेको बताइएको छ। पत्रमा हमजा बिन लादेनले उक्त बच्चा सधैं शहीदजस्तो मर्न चाहेको र सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि अत्यन्त दुःखी रहेको उल्लेख गरेको छ।

हमजा बिन लादेनले आफ्ना भतिजाहरूलाई पनि ओसामा बिन लादेन, ओसामा हमजा बिन लादेन र आफ्ना दाजुभाइको हत्याको बदला लिनका लागि जिहाद छाड्ने अपिल गरेका छन्। अल वतिक लामो समयदेखि एक अनलाइन जेहादी हुन र अल कायदासँग सम्बन्धित उसको जानकारीलाई विश्वास गर्न लायक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्