किम जोङको अमेरिकालाई अर्को चेतावनी सोलप्रति नरम प्रतिक्रिया



सोल, (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक प्रक्षेपण गर्ने स्विच सधैं आफ्नो टेबुलमा रहेको बताउँदै सोमबार संयुक्त राज्य अमेरिकालाई कहिल्यै पनि युद्ध शुरू गर्न नसक्ने चेतावनी दिएका छन्।

नयाँ वर्षको उपलक्षमा सरकारी टेलिभिजनमार्फत् भाषण दिने क्रममा किमले भनेका छन्– ‘अमेरिकाको सम्पूर्ण भू–भागमा उत्तर कोरियाको आणविक हातहतियारको पहुँच रहेको छ। यो कुनै धम्की होइन, वास्तविकता हो।’

तर किमले दक्षिण कोरियाप्रति नरम नीति अपनाउँदै किमले आफू वार्ताका लागि तयार रहेको बताएका छन्। साथै उनले उत्तर कोरियाको सोलमा आयोजना हुने हिउँदे ओलम्पिक्समा आफ्नो राष्ट्रिय टोलीले भाग लिने सम्भावना रहेको पनि बताएका छन्।

किमको यस्तो पछिल्लो प्रतिक्रियाबारे केही बोल्न अनुरोध गरिंदा अमेरिकाको फ्लोरिडास्थित मार आ लागो रिसोर्टमा नयाँ वर्षको उपलक्ष्यमा उपस्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हामीले हेरौंला, हामीले हेरौंला।’ मात्र भनेका छन्। विगत वर्षमा आफ्नो आणविक हातहतियार कार्यक्रम र बारम्बार गरिएको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणका कारण उत्तर कोरिया व्यापक आलोचना र नाकाबन्दीको सिकार भएको थियो।

अन्तर्राष्ट्रिय हातहतियार विशेषज्ञहरूले अझै पनि उत्तर कोरियाको आणविक क्षमतामाथि शंकाको दृष्टिले हेर्ने गरेका छन्। भाषणका क्रममा किमले हातहतियार कार्यक्रममाथिको आफ्नो प्राथमिकतालाई पुनः जोड दिएका छन्। साथै उनले आफ्नो महत्त्वकांक्षा प्राप्त गर्न उत्तर कोरियाले अझै केही चरण पार गर्न बाँकी नै रहेको पनि बताएका छन्। उनले उत्तर कोरियाले ठूलो संख्यामा आणविक हतियार र ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गरी तिनलाई तीव्र गतिमा उचित स्थानमा तैनाथ गर्नुपर्ने बताएका छन्।

साथै किमले आफूहरूले शान्ति खतरामा छ भन्ने महसुस नगरुन्जेल ती हातहतियार प्रयोग नगर्ने बताएका छन्। उत्तर र दक्षिण कोरिया दुवैका लागि सन् २०१८ निकै महत्त्वपूर्ण वर्ष रहेको छ। उत्तरले यो वर्ष आफ्नो ७०औं जन्म दिवस र दक्षिणले हिउँदे ओलम्पिक्सको आयोजना गर्दैछन्। किमले भनेका छन्– ‘यस अर्थपूर्ण वर्षमा हामीले उत्तर र दक्षिणबीच चिसिएको सम्बन्धलाई सुधार्नु राम्रो हुनेछ।’

यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रवक्ताले भनेका छन्– ‘हाम्रो सरकार जुनसुकै स्थानमा कुनै पनि बेला उत्तरसँग वार्ता गर्न तयार छ। हामीलाई आशा छ, दुई कोरिया एकै स्थानमा बसेर कोरियाली प्रायद्वीपमा शान्ति स्थापना र तनाव कम पार्न समाधान खोज्नेछन्।

योन्सेइ इन्स्टिच्युट फर नर्थ कोरियन स्टडिजका अनुसन्धानकर्ता यंगसिक ड्यानियल बोङले दक्षिण कोरियालाई सम्बोधन गर्ने किमको पुरानो शैलीमा परिवर्तन आएको बीबीसीलाई बताएका छन्। दक्षिण कोरियाको पेयोङचाङमा आयोजना हुने ओलम्पिक्स गेम्स कमिटीका अध्यक्ष लि हि बिओमले उत्तर कोरियाको उक्त गेम्समा हुने सम्भावित सहभागिताको खबर सुनेर आफूलाई खुसी लागेको दक्षिण कोरियाली समाचार निकाय योन्हापलाई बताएका छन्।

यसैबीच आइतबार अमेरिकाका संयुक्त सैनिक फौजका पूर्वकमान्डर माइक म्युल्लेनले अब अमेरिका उत्तर कोरियासँगको आणविक युद्धको नजिक पुगिसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्