पोखरामा अन्तर्राष्ट्रिय महोत्सव हुँदै



नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले पोखरामा चारदिने नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (निफ) आयोजना गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष केपी पाठकले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न पोखरामा यो फेस्टिवल आयोजना गरिन लागेको बताए।

उनका अनुसार आगामी माघ १९ गतेदेखि ४ दिनसम्म सो फेस्टिवल चल्नेछ। स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिवलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुने उनले बताए।

फेस्टिवलमा नेपालका तर्फबाट प्रकाश आङ्देम्बेको देश खोज्दै जाँदा, साम्तेन भुटियाको तान्द्रो र वासुदेव पोखरेलको प्रतिबद्धता नामका फिल्म देखाइनेछ। नेपालका तर्फबाट १३ सर्ट फिल्म महोत्वसमा प्रस्तुत हुनेछ। पोखरा उद्योग वाणिज्य संघको हलमा हुने फेस्टिवलमा १३ फिचर फिल्म, ४० सर्ट फिल्म र १० विषयमा अन्तरक्रिया हुनेछ। पहिलो संस्करणको यो फेस्टिवलमा नेपालसहित थाइल्यान्ड, ब्राजिल, इटली, श्रीलंका, अस्ट्रेलिया, सिंगापुर, ताइवान, मलेसिया, फ्रान्स, भारत, अफगानिस्तान, फिलिपिन्स, जर्जिया, इराक, अमेरिका, बंगलादेश, जर्मनी, इरान, चिली, सिरिया, रसिया, ग्रिस, चीन, बस्कोर्तोस्थान, चेज रिपब्लिक, कार्जाकस्तान र स्विजरल्यान्डका फिल्म देखाइनेछन्।

फेस्टिवलको जुरीमा नेपालका मीनबहादुर भामसहित भारतका अशोक रानी, कतारका खालिल बेनिक्रेन, श्रीलंकाका भिमुख्ति जयसुन्दरा, जापानका सोजो इच्छियामा र चीनका पेङ झिआओलियन हुनेछन्। फेस्टिवलको फिल्म छनोट समितिमा मनोज पण्डित, सचिन घिमिरे, विजयरत्न तुलाधर, करुण थापा र तीर्थ श्रेष्ठ छन्। फेस्टिवलको अन्तिम दिन उत्कृष्ट फिल्म, उत्कृष्ट नेपाल पानोरामा, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट जुरी अवार्ड प्रदान गरिनेछ। यी अवार्डको राशी क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपियाँ रहेका छन्।

‘हामीले बनाउने हरेक फिल्मको महत्त्व छ र यो काममा हामी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश यो फेस्टिवलबाट दिन चाहन्छौं’ –पाठकले पत्रकार सम्मेलनमा भने। त्यसै गरी फेस्टिवल निर्देशक मनोज पण्डितले कुन भूगोलमा कस्तो फिल्म बनिरहेको छ भन्ने थाहा पाउन फेस्टिवल महत्त्वपूर्ण हुने बताए। ‘विदेशी फिल्मकर्मीका लागि नेपाल पनि कथाको थलो हो भन्ने बुझाउन फेस्टिवलले भूमिका खेल्नेछ’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्