रेखा बालविवाहविरुद्धको अभियानमा



बाँके, (नेस)। नायिका रेखा थापा बालविवाहविरुद्धको अभियानमा लागेकी छन्। जाजरकोटका नरबहादुर कार्कीलगायतले थालेको छोरीको निम्ति स्वर्णिम नेपाल अभियानअन्तर्गत बालविवाह अन्त्य र साझा संकल्पका लागि नायिका थापा नेपालगन्ज आएकी हुन्।

नेपालगन्जमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ को संयोजनमा भएको साझा संकल्पमा नायिका थापाले बालविवाहविरुद्धको अभियानमा जोडिन पाएकोमा गर्व लागेको बताइन्। ‘बालविवाहले कस्तो असर पार्छ भन्ने कुरा मैले भोगेको छु, नायिका थापाले भनिन्– ‘अब यो अभियानमा बालविवाह अन्त्य नहुँदासम्म जोडिरहन्छु।’

अभियान्ता नरबहादुर कार्कीले नेपाल छोरी भएर जन्मिने अनुकुल देश नभएको बताए। उनले आर्थिक लाभबिना अभियानमा जुटिरहेको बताए। नेपालमा अहिले ३७ प्रतिशत छोरीको विवाह १८ वर्षभन्दा पहिले नै हुने गर्दछ। १० प्रतिशत छोरीहरुको विवाह १५ वर्ष पहिले हुने गर्दछ । नेपालको कानुनले २० वर्षभन्दामुनिको उमेरमा विवाह गर्न बन्देज गरेको छ।

बाँकेमा पनि बालविवाह अधिक रहेको छ । पहाडी समुदायका छोरीहरू सामाजिक सञ्जालमार्फत जोडिएर विवाह गर्ने, मधेसी समुदायका बालिकाको संस्कारका नाममा चाँडै विवाह गराइदिने गरिन्छ। संस्कारका कारण पनि बालविवाह बढिरहेको छ। बालविवाहविरुद्ध काम गरिरहेको बी ग्रुपका गोपालनाथ योगीले बालविवाहविरुद्ध स्रोत साधन खर्च भए पनि बालविवाह घट्न नसकेको बताए।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ का गभर्नर मधुसूदन रिजालले आफ्नो क्षेत्रमा बालविवाहविरुद्ध कार्यक्रमहरु अघि बढाउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्