काठमाडौं विश्वविद्यालयको जनरल एमडीको ट्रेनिङ सेन्टर दोलखामा



चिरञ्जीवी मास्के

दोलखा बजारमा रहेको गौरीशङ्कर सामुदायिक अस्पतालले जनरल एमडीको ट्रेनिङ सेन्टर सञ्चालनको तयारी गरेको छ। नयाँ भवन निर्माण गरिरहेको अस्पतालले भवन निर्माण सकिएलगत्तै जनरल एमडीको ट्रेनिङ सेन्टर सञ्चालन गर्ने काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजुले बताउनुभयो।

भूकम्पले अस्पतालको भवन क्षतिग्रस्त भएपछि अहिले लायन्स क्लबले सञ्चालन गरेको आँखा अस्पतालको भवनबाट ओपीडी सेवाका लागि ठाउँ दिइएको लायन्स क्लबका स्थानीय संयोजक शान्तकृष्ण श्रेष्ठले बताउनुभयो। अहिले गौरीशङ्कर सामुदायिक अस्पतालले पुरानो भवन रहेकै ठाउँमा साढे चारतले नयाँ भवन निर्माण गरिरहेको छ। नेपाल छारेरोग संघसँगको सम्झौतामा धुलिखेल अस्पतालद्वारा सञ्चालित गौरीशङ्कर सामुदायिक अस्पतालले भूकम्पअघि एमडीजीपी डक्टरसहितको सेवा सञ्चालन गर्दै आएकोमा भूकम्पपछि भने दुई जना एमबीबीएस डक्टरले सेवा दिँदै आएको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका सहायक डीन डाक्टर दीपक श्रेष्ठले बताउनुभयो। लक्जेम्बर सरकारको सहयोगमा नेपाली मेड अस्ट्रियामार्फत भवन निर्माणको काम भई रहेको सहायक डीन डाक्टर दीपकले बताउनुभयो। भवन निर्माणका लागि ६ करोड ७० लाख खर्च हुने र करिब २१ महिनामा भवन निर्माण सकिएपछि अस्पतालमा सबै खालको सेवा उपलब्ध हुने डाक्टर दीपकको भनाइ छ। ५५ बेडको अस्पतालमा अप्रेसनसहितको विशेषज्ञ सेवाहरू उपलब्ध हुने जनाइएको छ। जनरल एमडीको ट्रेनिङ सेन्टरसमेत हुने भएकाले अस्पतालबाट उत्कृष्ट सेवा लिन सकिने गौरीशङ्कर सामुदायिक अस्पतालमा कार्यरत डाक्टर दिवाकर पन्त बताउनुहुन्छ।

काठमाडौं विश्वविद्यालय विद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पतालले देशको विभिन्न २१ ठाउँबाट सेवा सञ्चालन गरिरहेको र त्यस मध्य दोलखामा सञ्चालनमा रहेको गौरीशङ्कर सामुदायिक अस्पताल सबैभन्दा ठूलो भएको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन डाक्टर राजेन्द्र कोजुको भनाइ छ। अस्पतालले मातृ शिशु भवन निर्माणका लागि समेत उपयुक्त ठाउँको खोजी गरिरहेको काठमाडौ विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन डाक्टर कोजु बताउनुहुन्छ। दोलखामा एमडीजीपीको ट्रेनिङ सेन्टरसहितको अस्पताल खोलिनु सुखद रहेको उल्लेख गर्दै लायन्स क्लबका स्थानीय कोअर्डिनेटर एवं समाजसेवी शान्तकृष्ण श्रेष्ठ अस्पतालका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुहुन्छ। आफूले पनि अस्पताललाई सहयोग गरेको र अस्पतालले सरकारी मापदण्डअनुसार सेवा दिनुपर्ने श्रेष्ठको भनाइ छ।

दोलखामा निजी क्षेत्रबाट दुई⁄तीन वटा अस्पताल र केही पोलिक्निकसमेत सञ्चालनमा रहेको भए पनि ती सबै स्वास्थ्य केन्द्रहरू सरकारी मापदण्डविपरीत भएको र ती अस्पतालहरूले सेवाग्राहीलाई ठगिरहेको स्थानीयको आरोप छ। भवन, स्वास्थ्य सेवालगायत सबै कुरा मापदण्डविपरीत रहेको अस्पतालले खुलेआम बिरामीलाई ठगिरहँदा पनि जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य कार्यालयलगायत सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ। जिल्ला जनस्वास्थ्य कार्यालयले दोलखामा सञ्चालनमा रहेका निजी अस्पतालहरूको अनुगमन गरेर त्यसको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको भए पनि जिल्ला प्रशासन कार्यालयले त्यो प्रतिवेदन सार्वजनिक गरेको छैन। भूकम्पपछि सेवामा केही समस्या रहेको भए पनि धुलिखेल अस्पतालले सञ्चालन गरेको गौरीशङ्कर सामुदायिक अस्पतालले सरकारी मापदण्डअनुसार नै उत्कृष्ट सेवा दिने डीन डाक्टर राजेन्द्र कोजुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्