चार नेताको भरमा तरुण दल



काठमाडौं, (नेस)
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको कार्य समिति चयन हुन सकेको छैन। गत कात्तिकमा भएको महाधिवेशनमा शीर्ष नेताहरूले भागवण्डा गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन भएको घोषणा गरे पनि कार्य समितिका अन्य सदस्यहरू अहिलेसम्म चुनिएका छैनन्।

कात्तिक २७ गतेदेखि पोखरामा भएको महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नहुने पक्का भएपछि पार्टीका शीर्ष नेताहरूले दुई दिन लम्ब्याएर भए पनि आफू पक्षका नेताहरूलाई पदाधिकारीमा चयन गरेका थिए। महाधिवेशनमा अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाईं, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग रायमाझी र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विद्वान् गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्य पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका थिए।

नेपाल तरुण दललाई शीर्ष नेताहरूले भागवण्डाको अखडा बनाएपछि कांग्रेसको सशक्त भ्रातृसंगठनका रूपमा रहे पनि यसले हालै सम्पन्न निर्वाचनमा प्रभावकारी भूमिकासमेत निभाउन सकेन। शीर्ष नेताहरूको भागवण्डामा तरुण दलका सदस्यसमेत नरहेका नेतालाई सर्वसम्मत नेतृत्व सुम्पिएपछि विवादित बनेको तरुण दलको कार्यसमितिले कहिले पूर्णता पाउँछ भन्ने जिज्ञाशामा अध्यक्ष बस्नेतले भन्नुभयो– ‘यस विषयमा पछि कुरा गरौंला।’ महाधिवेशनमा शीर्ष नेताहरूले भागवण्डा गरी कार्यसमितिका चार जनालाई टीका लगाइदिएपछि नेतृत्वका दाबी गर्दै चुनाव प्रचारप्रसारसमेत गरेका अन्य आकांक्षीहरू हिस्स परेका थिए।

तरुण दललाई शीर्ष नेताहरूले भागवण्डा गरेपछि नेतृत्वका आकांक्षाका साथ चुनावी मैदानमा रहेका अन्य नेताहरूले तत्कालीन समयमा अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष कृष्णप्रसाद सिटौला, महासचिव रामचन्द्र पौडेल र कोषाध्यक्ष खुमबहादुर खड्का भनी व्यंग्य गर्दै पोखराबाट राजधानी फर्किएका थिए।
कांग्रेसभित्र रहेका चरम गुटलाई मिलाउन तरुण दलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको बताए पनि अहिले तरुण दल चार जना पदाधिकारी मात्र छन्। सामान्यतया महाधिवेशनमा आएका प्रतिनिधिहरूले नेतृत्व चुन्ने अधिकारलाई वञ्चित गरेका नेताहरूको आन्तरिक भागवण्डा नमिलेको कारण कार्यसमितिका बाँकी सदस्यहरूको चयन नभएको बताइन्छ।

तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासी, जनजाति, मधेसबाट चार⁄चार जना, दलित अल्पसंख्यकबाट तीन⁄तीन जना तथा थारु, मुस्लिमबाट एक⁄एक जना निर्वाचित हुनुपर्नेछ। संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको छ। तत्कालीन अवस्थामा विभाजित दुई कांग्रेस एकीकरणपछि १४ वर्षअघि ६ महिनाका लागि गठन गरिएको तरुण दलको तदर्थ कार्यसमितिको लामो समयपछि निरंकुश तरिकाले भए पनि अधिवेशन त सम्पन्न भयो तर, अहिलेसम्म कार्यसमितिले पूर्णता भने पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्