जिल्ला कारागारमा एक सय बढी पुस्तक प्रदान



नेपाल समाचारपत्र, लमजुङ ।
जिल्ला कारागार शाखामा रहेका कैदी तथा बन्दीहरुका लागि एकसय भन्दा बढी पुस्तक प्रदान गरिएको छ । दि एसिया फाउण्डेशन नेपालको सहयोगमा रोट्रयाक्ट क्लव अफ लमजुङले विभिन्न प्रकारका १ सय ३२ थान पुस्तक प्रदान गरेको हो ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालले एक कार्यक्रमकाविच कारागार प्रशासनलाई सो पुस्तक हस्तान्तरण गर्नुभएको हो । उहाँले पछिल्लो समय कारागारलाई सुधारगृहको रुपमा लिइएको भन्दै जीवन परिवर्तन तथा आचरण सुधारका लागि पुस्तकको अध्ययन महत्वपूर्ण हुने बताउनुभयो ।

कारागार भित्र रहेर बन्दी जीवन विताई रहेकाहरुमा पठन संस्कृतिको विकासका लागि रोट्रयाक्ट क्लव अफ लमजुङका अध्यक्ष झमप्रसाद गुरुङले बताउनुभयो । उहाँका अनुसार कारागारको पुस्तकालयमा रहने गरी पुस्तक प्रदान गरिएको हो ।

पुस्तकालयका लागि बजेट नहुने हुँदा पुस्तक खरिद गर्न नपाएको अवस्थामा एकसय भन्दा बढी पुस्तक प्राप्त गरेपछि कारागार भित्रका बन्दीहरु खुशी व्यक्त गरेका छन् । कारागारभित्र समय विताउन कठिन भइरहेका बेला प्राप्त पुस्तकहरूले ज्ञान आर्जन सहित समय विताउन समेत सहज हुने थुनुवा राजन पोख्रेलले बताउनुभयो ।

यसअघि पत्रकार महासंघको पहलमा जिल्लाबाट प्रकाशित हुने पत्रिकाहरू उक्त कारागार भित्र बन्दीहरूका लागि निःशुल्क प्रदान गरिदै आएको पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङलेब ताउनु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एवं कारागार प्रमुख काजीमान सुनार, रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुईकेल सहितले आ– आफ्ना धारणा राख्नुभएको थियो ।

सो अवसरमा जिल्ला कारागारमा सात जना महिला र ६९ जना पुरुष गरी ७६ जना बन्दी रहेका कारागार प्रमुख काजीमान सुनारले जानकारी दिनुभयो ।
सरकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरी सामाजिक कार्य गर्दै आएको रोट्रयाक्ट क्लव अफ लमजुङले एसिया फाउण्डेशनकै सहयोगमा अमर मावि र मंगला माध्यामिक विद्यालयमा पनि पुस्तक सहयोग गर्ने कार्यक्रम रहेको सो क्लबका अध्यक्ष दिपक पौडेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्