प्राइम एफएमकोस्थापना दिवस



मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेबाट प्रशारण भइरहेको प्राइम एफएम १०४.५ मेगाहर्ज अंग्रेजी सम्वत २०१८ को प्रवेश सँगै सात बर्ष पुरा गरी आठौं बर्ष प्रवेश गरेको छ ।
विक्रम संवत २०६७ साल पुस १७ गतेदेखि प्राइम एफएमले आफ्नो औपचारिक प्रशारण सुरु गरेको थियो । जिल्लामा सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशिल व्यक्तिहरुको सक्रियतामा प्राइम एफएम स्थापना भएको हो । यसअघि उक्त फ्रिक्वेन्सीमा रेडियो नयाँ सन्देश प्रशारण भइरहेकोमा २०६७ देखि नयाँ ढंगबाट प्रशारण सुरु भएको थियो । एफएमको बार्षिकोत्सवको अवसरमा धुलिखेलमा आयोजित विशेष कार्यक्रममा एफएमका अध्यक्ष अशोक व्याञ्जुले अब प्राइम एफएमलाई प्रदेशस्तरीय रेडियोको रुपमा विकास गर्ने योजना रहेको बताए ।

यसका साथै तीन नंवर प्रदेशस्तरीय टेलिभिजन सञ्चालनको लक्ष्य रहेको र यसका लागि चाँडै नै सम्भाव्यता अध्ययनको काम सुरु गर्ने उनले बताए । सामूदायिक रेडियोलाई हेर्ने सरकारको फरक दृष्टि, केन्द्रीयस्तरका विज्ञापनमा कम पहुँच, स्थानीयस्तरका विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा लगायतका समस्याका बाबजुत एफएमले लोकतन्त्रको सम्वद्र्धन, मानवअधिकारको संरक्षण तथा जनताको सूचनाको हकको सम्मान गर्दै आफ्नो प्रशारणलाई अझ प्रभावकारी बनाउँदै लैजाने एफएमका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक व्याञ्जुले बताए ।
आई सामूदायिक सञ्चार केन्द्रबाट सञ्चालित एफएमले आगामी बर्षमा स्रोताहरुको मागअनुसार कार्यक्रमहरु थप गर्ने तथा सामाजिक क्षेत्रमा पनि विविध कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष व्याञ्जुको भनाई छ । कार्यक्रममा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावबाट निर्वाचित सांसदहरुलाई सम्मान समेत गरिएको थियो । एफएमका अध्यक्ष व्याञ्जु र पुर्वअध्यक्ष रमेश पौड्यालले सांसदहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सांसदहरु क्षेत्र नंवर १ का गंगावहादुर दोङ र क्षेत्र नंवर २ का गोकुल बास्कोटाले एफएमले यो अवधीमा लोकतन्त्रको रक्षाका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै व्यवसायिक बन्दै जान शुभकामना दिए । उनीहरुले मिडिया क्षेत्रको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने बचन दिए ।
कार्यक्रममा प्रदेशसभाका सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, पनौती नगरपालिकाका मेयर भीम न्यौपाने, बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे, विभिन्न नगरपालिकाका उपमेयरहरु, गाउँपालिकाका उपाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्