वित्तीय साक्षरता कक्षाबाट सम्पन्नताको बाटोमा …



रामधन राई, खोटाङ । एउटै श्रीमानका जेठी र कान्छी श्रीमति हुन् सरिता आचार्य र पार्बता आचार्य । खोटाङस्थित रुपाकोट मझुवागडी नगरपालिका वडा नं–१ दिक्तेलका सरिता र पार्वताको परिवारमा सासु–ससुरा र दुई जनाबाट जन्मिएका सन्तान गरी जम्मा १० जना सदस्य छन् ।
वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा रहेकोे श्रीमानको एक्लो कमाईले मात्र छोराछोरीको लालनपालन–पठनपाठनसँगै घरपरिवार चलाउन निक्कै मुस्किल थियो सरिता र पार्बतालाई ।
तर अहिलो त्यस्तो छैन । अहिले त सरिता र पार्वता मिलेर १६ वटा खशी बाख्रा तथा स्थानीय जातको सानो ठुलो गरी २१ वटा कुखुरा पाल्नुभएको छ । अहिले कुखुराबाट मात्र मासिक ४ हजार रुपैंयाँका दरले आम्दानी भईरहेको उहाँहरुको भनाई छ । कुखुरा पालनलाई व्याबसायिक बनाउँदै १ सय वटा कुखुरा पाल्ने र कम्तिमा ३० हजार रुपैंयाँ मासिक आम्दानी गर्ने दुई जनाको साझा लक्ष्य छ ।
त्यस्तै, खसीबाख्राबाट कम्तिमा पनि बार्षिक ६० हजार आम्दानी भईरहेकोमा व्याबसायलाई बढाएर जाने साँेच राख्नु भएको छ ।
अबको छ–सात महिनापछि श्रीमान पनि घर फर्कने योजना रहेको छ । श्रीमान आएपछि उहाँलाई पनि घरपरिवारसँगै बसेर आयमुलक व्यावसायमा सरिक गराउने अनुरोध गर्ने योजना रहेको दुवै जना श्रीमतिको मनसाय छ ।
आखिर यस्तो आत्मनिर्भर बन्ने हिम्मत, जाँगर तथा सोंच कहाँबाट आयो त आचार्य दिदीबहिनीमा ?
–‘वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आयममूलक ब्यवसायमा लाग्ने सोँच पलायो ।’ उहाँहरु सुनाउनुहुन्छ–‘पहिले हामीसँग कुनै पनि लक्ष्य तथा योजनाहरु थिएन ।’
श्रीमानकै कमाईमा जेनतेन घरपरिवार चलाउन बाध्य श्रीमतिद्वयमा सुरक्षित आप्रवासन परियोजनाको साझेदार संस्था बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको बित्तीय साक्षरता कक्षाको प्रभाबबाट यस्तो सोंच आएको हो ।
वित्तीय साक्षता कक्षामा निरन्तर रुपमा सहभागी बनेपछि परिवारमा पनि आम्दानीमुलक काम गर्नुपर्छ र मात्र सम्पन्नता र खुशी परिवार बनाउन सकिने रहेछ भन्ने कुरा बुझेको उहाँहरुको भनाई छ ।
त्यही बुझाईका कारण बाख्रा र कुखुरा पाल्न थालेको अनि आम्दानी बढाउँदै लगेको आचार्य परिवारले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानमा सञ्चालन भईरहेको बित्तिय साक्षरता कक्षामा आम्दानी बढाउने र खर्च घटाउने, हरेक कुराको हरहिसाब राख्ने, दीगो आयमुलक क्षेत्रमा लगानी गर्ने लगायतका बित्तीय ब्यवस्थापनको बारेमा छलफल गर्ने गरिएको छ । रेमिट्यान्स थाप्ने तथा सञ्चालन गर्ने वैदेशिक रोजगारीमा गएका परिवारको सदस्यहरुबीचमा बित्तीय साक्षरता कक्षा सञ्चालन गरिँदै आईएको छ । कक्षाको प्रभाबले हुन थालेको पारदर्शी र आयमूलक खर्चका कारण पारिवारिक खट्पट न्युनिकरण हुनका साथै सुखी तथा समृद्व परिवार बन्दै गएको सहभागीहरुले जनाएका छन् ।
कक्षामा सुरक्षित, मर्यादित तथा उपलब्धीकमूलक वैदेशिक रोजगारीका बिभिन्न पाटोहरुमा छलफल गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्