दृष्टीविहीन भएर के भो त ! ज्ञवालीले गरे पीएचडी



ईश्वरराज ढकाल, काठमाडौं
गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन। दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ उहाँ। त्यो हो उहाँले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि। त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम निकै खुसी देखिनुहुन्थ्यो ज्ञवाली। खुसीले गद्गद् मात्र होइन, पीएचडी पदवीले दीक्षित हुन पाउँदा हर्षविभोर नै हुनुहुन्थ्यो। उहाँले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई एकदमै ‘मिस’ गर्नुभयो। र, भन्नुभयो– ‘मेरो परिवारले सहयोग नगरेको भए डाक्टर हुन पाउँथिन होला, धन्य मेरो परिवार। छोराछोरीको सहयोग साह्रै महत्त्वपूर्ण हुँदोरहेछ, श्रीमतीको योगदानको त कुरै नगरौं।’

तर, उहाँलाई यो सफलता त्यति सजिलै हातपरेको होइन, यसका लागि उहाँले धेरै पापड पेल्नुपरेको छ। गुल्मीको बम्घा ताहाटिम विद्यालयमा कम्प्युटर शिक्षक रहनुभएका ज्ञवाली थप्नुहुन्छ– ‘कहिले छोरा विजय र कहिले छोरी तिलोत्तमाले पढेर सुनाउँछन्, उनीहरूले भनेकै आधारमा नोट बनाएर पढ्छु।’

बीबीए चौंथो वर्षमा अध्ययनरत तिलोत्तमा बुबाकै कुरामा सही थाप्दै भन्नुहुन्छ– ‘हाम्रै सहयोगमा बुबाले यो सफलता हासिल गर्नुभएको हो। बुबालाई सिकाउँदा म पनि धेरै जान्ने भइसकें।’ गुल्मीमै बस्दै आउनुभएका उहाँलाई घरमा हँुदा विद्यालयका शिक्षक र घर वरपरका साथीभाइले सहयोग गर्दै आएका छन्।
त्रिभुवन विश्वविद्यालयमा दृष्टिविहीन भएर पीएचडी पदवी हासिल गर्ने सायद उहाँ दोस्रो व्यक्ति हुनुहुन्छ। यसअघि लक्ष्मी पोखरेलले पीएचडी गरिसक्नुभएको छ। उहाँका अनुसार सायद दृष्टिविहीन वीरेन्द्र पोखरेल र गोविन्द आचार्य पनि पीएचडी गर्दै हुनुहुन्छ। २०६१ सालदेखि प्रावि द्वितीय तहको शिक्षकका रूपमा काम गर्दै आउनुभएको उहाँले पोलिटिकल साइन्समा पीएचडी गर्नुभएको हो। जन्मजात दृष्टिविहीन उहाँका बुबा र दुई भाइ पनि दृष्टविहीन नै हुनुहुन्छ।

त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादर देउवाले उच्च शिक्षा सबैका लागि सर्वसुलभ हुनुपर्ने बताउनुभयो। त्रिविका सहकुलपतिसमेत रहनुभएका उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकारी र सामुदायिक शिक्षाको गुणस्तरमा ह्रास आएको स्वीकार्दै सबैका लागि शिक्षाको पहुँच कायम गर्न नसकिएको बताउनुभयो। सामारोहका प्रमुख अतिथि जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्राडा जगदीश कुमारले त्रिभुवन विश्वविद्यालय सर्वोत्कृष्ट रहेको बताउनुभयो। उपकुलपति प्राडा तीर्थ खनियाले सेमेस्टर प्रणालीलाई मुलुकभर विस्तार गरिने बताउनुभयो। त्रिवि स्रोतका अनुसार यो वर्ष ६२ जना पीएचडी उपाधिबाट दीक्षित भएका छन् भने ३१ जनाले विभिन्न पदक पाएका छन्।

प्रतिक्रिया दिनुहोस्