आलोपालो प्रधानमन्त्रीले एकतामा अलमल



मधुसूदन रायमाझी, काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरे पनि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन। दुई पार्टीबीच नयाँ सरकार गठनअघि नै एकता कि सरकार गठन भएपछि एकता भन्नेमा अलमलिँदा पार्टी एकता प्रक्रिया अलमलमा परेको छ।

पार्टी एकता प्रक्रिया अगाडि बढाउने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ बीच वान टु वान वार्ता भए पनि गति लिन सकेको छैन। पार्टी एकीकरण गर्नका लागि कात्तिक १७ गते गठन भएको शीर्ष नेता सहभागी एकता संयोजक समितिको बैठक नै निर्वाचनपछि बस्न सकेको छैन।

गत बुधबार एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको ओली र प्रचण्डको वार्तामा एकता संयोजक समितिको बैठक तत्काल बोलाएर एकता प्रक्रियालाई अगाडि बढाउने सहमति भएको थियो। तर, ओली र प्रचण्डबीच नै सहमति नहुँदा बैठक लम्बिएको बताइएको छ।

निर्वाचनअघि चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने ६ बुँदे सहमतिमा अध्यक्ष ओली र प्रचण्डबीच आलोपालो सरकारको नतेृत्व गर्ने सहमति भएको थियो। तर, अहिले अध्यक्ष ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने चाहना व्यक्त गरेपछि प्रचण्डले साढे दुई वर्षपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुनिश्चिता खोज्दा दुई अध्यक्षबीच नै अलमल देखिएको छ।

पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन गठित ‘पार्टी एकता संयोजक समिति’ को बैठक निर्वाचन सम्पन्न भएको ३ साता बितिसक्दासमेत बस्न सकेको छैन। अध्यक्ष ओली र प्रचण्डबीच नै प्रधानमन्त्री आलोपालो सञ्चालन गर्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियाको बाँकी काम अगाडि बढ्न नसकेको हो। ओलीले सरकारको नेतृत्व गर्दा पार्टीको नेतृत्व प्रचण्डले गर्ने मोटामोटी सहमति भइसकेपछि सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने विषयमा ओली र प्रचण्डबीच अझै कुरा मिल्न सकेको छैन।

नेकपा एमालेका अध्यक्ष ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने पक्षमा छन् भने माओवादीले परिवर्तित सन्दर्भमा नयाँ व्यक्तलाई राष्ट्रपति बनाउनुपर्ने अडान लिएको छ। नेकपा एमालेबाट वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको चाहना व्यक्त गर्दै आउनुभएको छ। माओवादी केन्द्रबाट नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपतिको रूपमा चर्चा गरिए पनि औपचारिकरूपमा माओवादीले प्रस्ताव गरेको छैन। माओवादीले राष्ट्रपति र सभामुखमध्ये एकमा दाबी गर्दै आएको छ। पार्टी एकता प्रक्रियामा दोस्रो तहको नेताहरूको व्यवस्थापन पनि चुनौतीको रूपमा देखिएको छ। एमालेबाट पूर्वप्रधानमन्त्री भइसक्नुभएका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालको व्यवस्थापनको विषय पनि चुनौतीका रूपमा रहेको माओवादीका एक नेताले बताए। खनाललाई राष्ट्रपति बनाउने निर्णय भए माधवकुमार नेपाललाई पार्टीमा कुन हैसियत दिने भन्ने बहस पनि शुरू भएको छ।

एमाले र माओवादीले असोज १७ गते चुनावी गठबन्धन घोषणा गर्दा चुनावलगत्तै एकता प्रक्रिया अगाडि बढाउने बताएका थिए। तर, दुई पार्टीका शीर्ष नेताहरू सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक नै अन्योलमा परेको छ। पुस १२ गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालकोटमा भेट भएको थियो। दुई नेताको भेटमा एक⁄दुई दिनभित्र पार्टी एकता संयोजना समितिको बैठक बस्ने सहमति बनेको थियो। तर, त्यसपछि पनि बैठकको मिति तय हुन सकेको छैन। तर, अनौपचारिक तहमा नेताहरूबीच कुराकानी भइरहेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल छिट्टै एकता संयोजक समितिको बैठक बसेर पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एकता संयोजक समितिको बैठकले नै पार्टी एकताको प्रक्रिया अगाडि बढ्छ, धेरै विषयमा छलफल गर्नुपर्ने आवश्यकता छ, पार्टी एकता हुनेमा कुनै शंका छैन, सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढ्छ।’

पार्टी एकताका लागि पौडेलको चार सूत्र
नेकपा माआवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले पार्टी एकताका लागि चार सूत्र अगाडि सार्नुभएको छ।

उहाँले पार्टी एकता अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै नेतृत्वको पद बाँडफाँड गरेर पार्टी एकीकरणको घोषणा गर्न महाधिवेशनमा जानुपर्ने बताउनुभएको हो।

आइतबार पत्रकारहरूसँगको कुराकानीमा नेता पौडेलले नेतृत्वको प्रश्न धेरै संवेदनशील रहेको उल्लेख गर्दै सम्मानजनक एकताका लागि सरकार र पार्टीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका केपी शर्मा ओलीले लिनुपर्ने बताउनुभयो। ‘पार्टी एकताको लागि चुनौती छ, टुटफुट र विभाजनले कुनै पनि राजनीतिक दललाई फाइदा भएको छैन, पार्टी एकता हुनुपर्छ’ –उहाँले भन्नुभयो।

पार्टी अध्यक्ष र सरकारको नेतृत्व रोजेर एमालेले पाउने बताउँदै उहाँले पूर्वप्रधानमन्त्रीसमेत भइसक्नुभएका एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालको व्यवस्थापनको पनि चुनौतीकै रूपमा रहेको बताउनुभयो। ‘दुई अध्यक्ष बस्दा पनि नेतृत्वको कुरा मिलेको छैन’, नेता पौडेलले भन्नुभयो– ‘दुई अध्यक्षबीच स्पष्ट भएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ, सहजीकरणका लागि पनि छलफल भइरहेको छ, नेतृत्व विचार र सरकारको विषयमा परमर्श भइरहेको छ।’ तेस्रो तहको नेताहरूको पोजिसन के हुन्छ ? भन्ने हो भने एकता भाँडिन्छ, अहिलेको आवश्यकता सम्मानजक पार्टी एकता हो, उहाँले भन्नुभयो। राम्रो पार्टी भएको अवस्थामा तल्लो कमिटीमा रहेर काम गर्दा पनि इज्जत हुने बताउँदै नेता पौडेलले अहिले पार्टी एकताको मोटा खाका घोषणा गर्ने, बाँकी सिस्टममा लिएर जाने विषयमा नै छलफल भइरहेको बताउनुभयो।
उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई पनि वाम गठबन्धनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्दै उहाँले उपेन्द्र यादवलाई एकता प्रक्रियामा ल्याउँदा राम्रो सन्देश जाने बताउनुभयो। उहाँका अनुसार भट्टराई र यादवले पार्टी एकताका लागि तयार भए पनि कम्युनिस्ट पार्टी नाम नराखी समाजवादी पार्टी नामकरण गर्नुपर्नेमामा जोड दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्