आलोपालो सान्त्वना



वाम गठबन्धनका मुख्य ‘लमी’ मानिएका एमाले उपाध्यक्ष वामदेव गौतम संसदीय निर्वाचनमा पराजित भएपछिको टीकाटिप्पणी अझै सकिएको छैन। वामपन्थी नेताहरू हरेक दिनजसो गौतमलाई सान्त्वना दिइरहेका छन्, वाम गठबन्धनभित्रै उनलाई खुच्चिङ भन्नेहरू पनि धेरै छन्।
गौतमलाई सान्त्वना दिने नेताहरूको अग्रसूचीमा पर्छन् माओवादी अध्यक्ष प्रचण्ड। शनिबार गौतमकै पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले सान्त्वनाका शब्द खर्चिए र भने– ‘गौतम पराजित हुँदा नमिठो लागेको छ।’ केही अपवादबाहेक त्यस्तै सान्त्वनाका शब्द माओवादीका नारायणकाजी श्रेष्ठलाई खर्चिएको भने धरहरा विरलै देख्छ। सायद उनलाई खुच्चिङ भन्नेहरू धेरै भएर पो हो कि ?

अहिले एमाले र माओवादीबीचको वाम घटक मिलेर एउटै पार्टी बनाउने तयारी भइरहेका बेला दुवै पार्टीका धेरै नेताहरू महत्त्वपूर्ण पदबाट बाहिरिने सम्भावना उच्च छ। अर्थात् राष्ट्रिय राजनीतिको ‘फ्रन्ट लाइन’बाट धेरै नेता ओझेल पर्ने निधो छ। अहिले निर्वाचनमा पराजित गौतम र श्रेष्ठ फ्रन्ट लाइनमा आउने सम्भावना पनि उत्तिकै छ।

खुच्चिङ भन्नेहरू ओझेल पर्ने सम्भावना झनै उच्च छ। गौतम र श्रेष्ठलगायतले पार्टी एकीकरणपछि भन्नेछन्– ‘नचाहँदा नचाहँदै पनि एक्टिभ नेताहरू फ्रन्ट लाइनबाट बाहिरिनुभएको छ, धेरै दुःख लागेको छ।’

प्रतिक्रिया दिनुहोस्