विराटनगर वारियर्स ईपीएल च्याम्पियन



काठमाडौं, (नेस)
अन्तिम ओभरमा अनिल शाहको बलिङ उत्कृष्ट बनेपछि विराटनगर वारियर्सले टीभीएस एभरेस्ट प्रिमियर लिगको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो। पारस खड्काको टोलीले पहिलो पुरस्कार २१ लाख रुपियाँ प्राप्त गर्दा भैरहवा ग्लाडियटर्सले ८ लाख नगदमै चित्त बुझाउनुपर्यो। कप्तान सरद भेषवाकरले फाइनलमा ५२ रन जोडे पनि भैरहवाले विराटनगरसँग बदला लिन सकेन। यसअघि यसै लिगमा दुई पटक भैरहवा सोही प्रतिद्वन्द्वीसँग हारेको थियो।

फाइनलमा भने भैरहवाले जित्ने मौका त्यसै गुमायो। अन्तिम ओभरमा १ सय ५० रनको लक्ष्यमा पुग्न मात्र ९ रनको आवश्यक थियो र हातमा ४ विकेट सुरक्षित थियो। अनिलको बलिङमा भैरहवाका खेलाडी चुके। त्यसो त अनिलको पहिलो बललाई कृष्ण कार्कीले बाउन्ड्री पार गराएर जितको लागि ५ बलमा ५ रनको सजिलो समीकरण बनाए।

तर कृष्ण दोस्रो बलमा बोल्ड भए भने तेस्रो बलमा रन बनेन। चौथो बलमा भुवन कार्की रन नआउने ठाउँमा अनावश्यक दौडे र रनआउट भए। यसपछि विराटनगर खेलमा फर्कियो। पाँचौ बलमा दबाबमा रहेका पुनीत मिश्र पनि अनिलको सिकार बने। त्यसपछि एक बलमा पाँच रन बनाउनुपर्नेमा भुपेन्द्र थापाले तीन रन बटुल्दा भैरहवा १ सय ४८ रनमै सीमित भयो। विराटनगरको बलिङमा अनिलले सात रन दिएर ३ विकेट लिए।

यसअघि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको थियो। जसमा हङकङका खेलाडी अंशुमान राठले सर्वाधिक ४१ रनको योगदान दिए। अर्का हङकङ खेलाडी बाबर हयातले प्लेयर अफ टुर्नामेन्ट घोषित भएर टीभीएस अपाचे आरटीआर २ सय सीसीको मोटरबाइक प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्