विन्ध्यवासिनी अवार्डमा रामकृष्णको हुरीलाई ह्याट्रिक रत्नशमशेरलाई लाइफटाइम अचिभ्मेन्ट



रश्मी थापा

जय गीत जय संगीतको नारासहित शनिबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित आठौं विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा गायक रामकृष्ण ढकालको म हुरीमा दियो बलेको देख्छु बोलको गीतले ह्याट्रिक गरेको छ।

विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सुगम संगीततर्फ गायक ढकालको आवरण वर्षको उत्कृष्ट एल्बम सावित भयो । त्यसमा रहेको म हुरीमा दियो बलेको देख्छु बोलको गीतबाट ढकालले सुगम संगीततर्फका सर्वोत्कृष्ट गायक पुरुषको अवार्ड चुमे। सोही गीतबाट राजेश थापा सर्वोत्कृष्ट संगीतकार र रमेश विजी सर्वोत्कृष्ट रचनाकार ठहरिए। सुगम संगीततर्फको गायिकाको अवार्ड फुल्नुभन्दा त बोलको गीतबाट श्रेयसी चेम्जोङ लिम्बूले चुमिन् भने आज फेरि एकान्तमाबाट वीरेन्द्र पाठकले सर्वोत्कृष्ट गीत, रातोरातो खुर्सानीबाट क्रान्ति केसीले म्युजिक भिडियो निर्देशक, निष्ठुरीले मान्दै मानिनबाट गुणराज श्रेष्ठले पप तथा सुगम संगीत नवप्रतिभा र तिम्रो माया पाउनलाई बाट चन्द्रज्योती आलेले महिला गीतकारको अवार्ड जिते। पप संगीततर्फ सुरजकुमार थापाले तस्वीर तिम्रोबाट पप गायक, आकांक्षा बस्यालले म पग्लन्छुबाट पप गायिका, राजु सिंहले भुल्यौकी भुलेकी छैनौबाट संगीतकार, एस राजकुमार र मेलिना राईले तिमीले सम्झेर होकीबाट युगल गायन र कमल सौरागले सँगै बाँच्ने कसमबाट संगीत संयोजकको अवार्ड जितेका छन्।

लोकदोहोरीतर्फ राजन गुरुङले उही खोलीमा पानीबाट लोकदोहोरी गायक, शर्मीला गुरुङले हैन अरूकोबाट लोकदोहोरी गायिका, कस्तुप पन्तले जवानीमा धक्काबाट लोक दोहोरी भाका, प्रल्हाद सुवेदीले मेरो झल्को आएमाबाट रचनाकार, एकनारायण भण्डारीले लाली जोवनबाट लोक दोहोरी गीत, युवराज मगरले जुल्फी कपाल काटेकोबाट नवप्रतिभा र प्रकाश भट्टले तामे करुवाबाट म्युजिक भिडियो निर्देशकको अवार्ड पाए।
त्यसै गरी दुर्गेश थापा र रोसिना एलसीले बाल मतलवबाट पप तथा आधुनिक भिडियो मोडल जोडीको अवार्ड चुमे भने देवेन्द्र क्षेत्री र रूपा कँडेलले नबोलदेउ रिसाएरबाट लोकदोहोरी मोडल जोडीको अवार्ड चुमे। दिनेश डिसीद्वारा विभिन्न भेषमा रोचक ढंगले सञ्चालित कार्यक्रममा राजेशपायल राईलाई फिल्म दर्पण छाया २ को दर्पण छायाँ गीतका लागि पाश्र्व गायकको अवार्ड दिइयो भने मिना निरौलालाई लुट २ को ठमेल बजारका लागि पाश्र्व गायिकाको अवार्ड दिइयो। त्यस्तै छक्कापञ्जाको पूर्वपश्चिम रेलका लागि राजनराज सिवाकोटीलाई संगीतकारको अवार्ड दिइयो।

विभिन्न गीत संगीत र नृत्य प्रस्तुतिका साथ अगाडि बढेको कार्यक्रममा विष्णु पौडेलले बुद्ध खेल्ने आँगनबाट राष्ट्रिय भावनाले ओतप्रोत गीत, राजेश घिमिरेले अपुरै भोबाट छायाँकार, दीपक विष्टले मनमा कुरा खेलाउँदैबाट भिडियो सम्पादक र साजन साहले दर्शन नमस्तेबाट रेकर्डिस्टको अवार्ड पाएका छन्। म्युजिक कम्पनीको अवार्ड भावना म्युजिक सलुसनले पाएको समारोहमा विन्ध्यवासिनी म्युजिक अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान डीआर अटुटले पाएका छन् भने जुरी अवार्ड आज फेरि एकान्तमाबाट अजर जंगमले पाएका छन्। त्यस्तै पब्लिक च्वाईस अवार्ड मर्ने मितिबाट सारीका केसी र बिमल अधिकारीले पाएका छन्।

कार्यक्रममा गीतकार रत्नशमशेर थापालाई १ लाख २ हजार २ शय २ रुपियाँसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। अवार्डको राशि ५१ हजार १ सय ५१ भए पनि एसियन थाई फुडले अवार्डवापत थप ५१ हजार १ शय ५१ प्रदान गरेपछि सो राशि १ लाख २ हजार २ सय २ रुपियाँ भएको थियो। त्यसै गरी २५ हजार ५ सय २५ रुपियाँसहित डब्बु क्षेत्रीलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट सम्मान गरियो भने रीमा गुरुङ होडालाई १५ हजार ५ शय ५५ सहित विन्ध्यवासिनी संगीत रत्न सम्मान प्रदान गरियो। उनको अनुपस्थितिमा उनको संगीतकार पिता प्रकाश गुरुङले सम्मान ग्रहण गरेका थिए। यस वर्षको विन्ध्यवासिनी चलचित्र सम्मानबाट १० हजार १ रुपियाँसहित अभिनेता तथा फिल्म निर्देशक शुदर्शन थापा सम्मातिन भएका छन्।

राष्ट्रिय धुनबाट शुरु भएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, विजय अधिकारी, मनोजराज शिवाकोटी, शिशिर देवकोटा, प्रेमप्रकाश ओली, बद्री पंगेनी, टिका प्रसार्इं, सुमिना लो, मेक्सम खातीलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए भने काजिश श्रेष्ठ, दिपासा बीसी, विक्रम चौहान, टीका जैसी, शंकर बीसी, दुर्गेश थापा तथा समूहले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अजर जंगम र सुरजकुमार थापाले गीतकार रत्नशमशेर थापाका गीतहरू प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्