४ सय १५ मिटर सुरुङ खन्न बाँकी



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा मेलम्चीको पानी ल्याउन अब ४ सय १५ मिटर सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

निर्माण कम्पनीले शुक्रबार अबेरसम्म काम गरेर सुरुङको अम्बाथान–ग्याल्थुम ८ किमि खण्डको काम सम्पन्न गरेपछि अब सुरुङ खन्न ४ सय १५ मिटर बाँकी रहेको हो।

सो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएपछि शनिबार बिहानै खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दी, सचिव गजेन्द्र ठाकुर, आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र एडीबीकी प्रोग्राम म्यानेजर लक्ष्मी शर्मा अवलोकन गर्न पुग्नुभएको थियो।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले शुक्रबार राति अम्बाथान–ग्याल्थुम खण्डको ८ किमि सुरुङ सम्पन्न भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘शुक्रबार राति अबेरसम्म काम गरेर निर्माण कम्पनीले अम्बाथान–ग्याल्थुम सुरुङ खण्डको काम सम्पन्न गरेको छ। त्योलगतै त्यहाँ फिनिसिङको काम भइरहेको छ।’ उहाँका अनुसार अब सुरुङ खन्न बाँकी रहेको ग्याल्थुम–सिन्धु साढे ७ किमिअन्तर्गतको काम भइरहेको छ। त्यस खण्डमा सुरुङ सम्पन्न हुन ४ सय १५ मिटर मात्रै खन्न बाँकी रहेको उहाँको दाबी छ।

सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)ले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ किमि सुरुङ खण्डलाई तीन भाग गरी खनेको आयोजनाले जनाएको छ।
पहिलो खण्डअन्तर्गत सुन्दरीजल–सिन्धु ९ किमि सुरुङ अघिल्लो वर्षको पुसमै सम्पन्न भइसकेको छ। त्यस्तै दोस्रो खण्ड सिन्धु–ग्याल्थुम साढे ७ किमि सुरुङको काम भइरहेको छ भने तेस्रो ग्याल्थुम–अम्बाथान साढे ८ किमि जोडिइसकेको छ। जोड्न बाँकी सिन्धु–ग्याल्थुम खण्डमा काम सम्पन्न हुन अझै करिब तीन महिना समय लाग्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो। ‘ड्रिल एन्ड ब्लास्ट’ तरिका अपनाएर अहिले निर्माण पक्षले सुरुङ खन्ने काम गरिरहेको छ।

कडा चट्टान भएको ठाउँमा चाँडै काम हुने र नरम चट्टान हुने ठाउँमा ढिला काम हुने आयोजनाले जनाएको छ। पछिल्लो पटक सम्पन्न भएका सुरुङ खण्ड पनि कमजोर चट्टानका कारण ढिला काम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्