साहित्यका ज्ञात व्यक्तित्व ः कपिल अज्ञात



मोहन दुवाल
शिक्षा, मान्छेको ग्रहदशा र साहित्यको त्रिवेणीमा डुबल्की मारेर चितवनको माटोमा आफूलाई समर्पित तुल्याउँदै आएका कपिल अज्ञात वर्तमान समयका लागि साहित्यका ज्ञात व्यक्तित्व हुन्। प्राध्यापक पेसासँग जीवनका आधारहरू जोडेर बचेको समयलाई साहित्यमा मन दिएर कलम चलाउँदै आएका यिनी समीक्षक, निबन्धकार, कविका रूपमा चितवनबाट राष्ट्रमा चिनाउँदै आएका नाम हुन्। ज्योतिष विज्ञानमा विद्यावारिधि गर्ने यिनको धोकोले गर्दा यस क्षेत्रमा यिनको ज्ञान राख्न र यस विज्ञानमार्फत साहित्यकारहरूलाई परिचित तुल्याउन लेखकहरूको जन्मकुण्डली, नामअनुसार ग्रहदशा पनि यिनले लेखेर प्रकाशित गराउँदै आएका छन्। यो नौलो विषयको प्रयोग गरेर यिनले आफ्नै खालका यात्रारम्भ पनि गरेका छन्।

साहित्य बगैंचाको फूलजस्तो सुगन्धमय, कोइलीको स्वरजस्तो माधुर्ययुक्त, सुन्दरीको नृत्यजस्तो आकर्षणपूर्ण हुनुपर्ने सोच राख्दै आएका यिनले साहित्य जीवन जगत्का लागि अग्रगमनका द्वारहरू देखाउनका लागि प्रयोग हुनुपर्ने विषय हो भनी आफ्नो विचार राख्ने गर्छन्। महाकवि देवकोटाको मानवतावादबाट विशेष प्रभावित यिनी गोपालप्रसाद रिमाल, भूपि शेरचनका कविताहरूबाट पनि प्रभावित छन्। बाल्यकालदेखि बौद्धिक कार्यमा मन लगाउँदै आएका यिनले छन्द वा पद्यसँगको आफ्नो आत्मीयता जोड्दै गद्यको गति र प्रवाहमा पनि पौडी खेल्दै आएको देखिन्छ। मेरो देश महान् हो पहिलो गीतिकविता लेखेर साहित्यिक क्षेत्रमा देखा परेका यिनी निबन्ध र समीक्षा लेखनमा पनि आफ्नो गतिशीलता देखाउन सफल छन्। प्राध्यापन पेसाबाट बचेको समयलाई जोहो गर्दै साहित्यलेखनमा आफ्नो अग्रसरता देखाउँदै आएका कपिल अज्ञात साहित्यबारे आफ्नो दृष्टि यसरी पोख्छन्– साहित्यले राजनीतिलाई पनि दिशा दिन सक्छ। साहित्यकै पृष्ठभूमि र कारणबाट ठूल्ठूला राजनीतिक क्रान्तिहरू सफल भएका छन्।

तसर्थ असल राजनीतिका लागि पनि सच्चा साहित्यको आवश्यकता पर्छ। सामाजिक रूपान्तरण र विकासमा दुवैको अहम् भूमिका हुन्छ।
वि.सं. २०१४ चैत्र १६ गते रामनवमीका दिन ढाडेटारी, पौवेगौडे स्याङ्जामा पिता लीलाधर रेग्मी र माता चन्द्रकला रेग्मीका जेष्ठ पुत्रका रूपमा जन्मेका कपिलमणि शर्मा रेग्मी नै आजका साहित्यकार कपिल अज्ञात हुन्। स्याङ्जाबाट जीवनक्रमहरू गुजार्न चितवन पुगेका यिनी चितवनमा प्राध्यापनसेवा पुर्याउँदै चितवनको भरतपुर नपा वडा नं. १२ मा स्थायी रूपले बसोबास गर्दै आएका हुन्। नेपाली भाषामा स्नातकोत्तरसम्म उत्तीर्ण गरेका यिनी महोत्तरीको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी हुँदै हाल यिनी वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा सहप्राध्यापक भई सेवा पुर्याउँदै छन्।

२५ वर्ष जति हुन लाग्यो यिनी शैक्षिक क्षेत्रमा मजदुरजस्तै खटेर शिक्षा जगत्मा आफूलाई देखाउँदै आएको पनि। धेरै सङ्घर्षका पदचापहरू राख्दै, भोग्दै, देख्दै आएका यिनी जीवनलाई सङ्घर्षकै प्रतिविम्ब सम्झिन्छन्। जीवनसंगिनी निर्मलाकुमारीका साथ पाएर सुशील र सुभाषका जीवनका प्रश्वासहरूलाई साथ दिँदै आएका यिनी दुईजना आफ्ना छोराहरूलाई जीवनपथमा सफलतापूर्वक लगाउन सफल छन्।

बागीश्वरी, विवेक, हरिहर क्षेत्र सन्देशलगायत आत्मावतार (कथासङ्ग्रह) को समेत सम्पादन गरिसकेका यिनका प्रकाशित कृतिहरूमा अज्ञातका कविता (कवितासङ्ग्रह, २०४७), साहित्य सिर्जन प्रक्रिया (खोजमूलक अनुशीलन, २०५५), समालोचनाको सन्दर्भ (समालोचनासङ्ग्रह, २०५५), पत्रसन्देश (साहित्यिक पत्रसङ्ग्रह, २०६४), अनुभूतिका उमङ्ग (मुक्तकसङ्ग्रह, २०६४), समय–समयका स्वरहरू (गजलसङ्ग्रह, २०६४), भूलहरूका विरुद्ध (निबन्धसङ्ग्रह, २०६४), समीक्षा–सन्धान (विविध समीक्षासङ्ग्रह, २०६४), देवकोटा आयाम र प्रवृत्ति (समीक्षा, २०६५), ज्योतिष र साहित्य (लेखसङ्ग्रह, २०६६), स्रष्टा विम्ब व्यक्तित्व आरेख (व्यक्तित्व चर्चा, २०६७), लोक साहित्य ः प्रवृत्ति र अन्वेषण (समीक्षात्मक लेखसङ्ग्रह, २०६७), निर्बाध स्वरहरु (कविता, २०६७) छन्।

गद्य कविताका साथै मुक्तक, गजल, गीत, कविताहरू लेखेर आफूलाई कविका रूपमा चिनाइसकेका यिनले निबन्ध र समीक्षामा पनि आफूलाई सबल ढङ्गले प्रस्तुत गर्न सफल छन्। यिनको साधना र सिर्जनाका लागि कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार २०५५, सगर सम्मान २०५६, पल्लव सम्मान २०६३, ज्योतिष दिवाकर २०६३, ज्योतिष मार्तण्ड २०६४, कालीगण्डकी साहित्य कला पुरस्कार २०६४, प्रतिभा पुरस्कार २०६४ ले सम्मानित भइसकेका छन्।

लेखपढ नै आफ्नो अम्मल बनाउँदै आएका यिनी सरलता र सक्रियतामा जीवनको अस्तित्व खोज्नका लागि सङ्घर्षरत छन्। जीवनलाई शिक्षा, साहित्यका अनेकौं तरङ्गहरूमा घुलमिल गर्दै आफूलाई उदात भावना र विचारसँग खेल्ने र लेख्ने प्रयासमा सहभागी बनाउँदै आएका कवि अज्ञातको परिभाषामा साहित्य सत्य, शिव र सौन्दर्यमयी भावनाले युक्त हृदयको पोषक हो। यो समाजको मूर्त अनुहारमा नभई अन्धकारभेदी आँखा हो, यथार्थ ऐना मात्र नभई समाजको पथप्रदर्शक दर्शन हो। यस्तै भावनामा साहित्य सिर्जना गर्दै आएका अज्ञातका साहित्य सिर्जनामा देखा परेका थुप्रै पदचापहरू स्मरणयोग्य र उल्लेख गर्नलायकका छन्। निबन्धमा आफ्नो गति र मतिलाई रोचक ढङ्गले प्रस्तुत गर्न सिपालु भएकै कारणले यिनका निबन्धहरू सीपयुक्त हुनुका साथै विम्बमय छन्। समीक्षामा तीव्र अनुभूति राख्न सिपालु रहेकै कारणले यिनी तीक्ष्ण दृष्टि भएका समीक्षक हुन् भन्न सकिन्छ। जाँगर चलाउनेहरूले मात्र लेख्न अल्छी गर्दैनन्। कपिल अज्ञातले पनि जाँगर चलाएकै कारणले लेख्न समय मिलाउन सके। निकै व्यस्त प्राध्यापन पेसामा रमेर पनि साहित्यमा यिनी कमजोर देखिँदा छैनन्। चितवनमा रहेर पनि राष्ट्रमा आफ्नो पहिचान देखाउन र बाँड्न सफल कपिल अज्ञातले चितवनको माटोमा आफू सक्दो साहित्यिक सेवा पुर्याइरहेको देखिन्छ।

कपिल अज्ञातसँग मेरो परिचय गैंडाकोटमा भएको हो। २०५३ सालतिर नै हुनुपर्छ, नेपाल बालसाहित्य समाजको कार्यक्रममा उनले मुक्तक पढेको। मुक्तक मन पराउने मलाई कपिलले मुक्तकमार्फत नै हो मोहनी लगाएको। पहिलोचोटि उनका मुक्तकहरू २०५३ असारमा जनमतले छापेको हो। यसरी सम्पर्क र सम्बन्ध भयो कपिल अज्ञातसँग। यही सम्पर्कबाट जनमत र चितवनको सम्बन्ध दह्रो ढङ्गले गाँसियो। जनमतका सहयोगी बने। जनमतका लेखक भए। जनमतसँग भावना साट्न उनी तयार भए। फोनबाट सम्पर्क हुन्छ, चिठीपत्रबाट विचार साटासाट हुन्छ, यसरी जीवन्तता गाँसिएको हो कपिल अज्ञातसँग मेरो।
मानवीय सम्बन्ध सबभन्दा गाढा र फराकिलो हुन्छ। अझ साहित्य–कलाका सर्जकहरूबीचको सम्बन्ध त झन् प्रगाढ र मैत्रीपूर्ण बन्छ। यही सम्बन्ध हो कपिलसँग जनमत र हाम्रो साहित्यिक अभियानको। सम्बन्ध गाँसिएदेखि सम्बन्ध नभट्किएको सम्बन्धले कपिल अज्ञातसँग जनमतको साइनो गाँसिएको हो। मुक्तककार, गीतकार, कवि, गजलकार भई काव्यका अनेकौं परिदृश्यहरूमा देखाउँदै आएका यिनका काव्य–अंशहरू रोचक र मनोरम छन्। नमुनास्वरूप एउटा गजल प्रस्तुत छ–
भेट्छु कि त बजारमा सुन खोज्नेहरू
देख्छु कि त हतारमा नुन खोज्नेहरू।
देख्दिनँ म गन्तव्यको फराकिलो बाटो
कता होलान् आकाशमा जून खोज्नेहरू।
चल्दै छ यो रूपैंयाको सधैँ हारजीत
कहाँ लुके संगीतका धुन खोज्नेहरू।
देख्छु मुलुकमै हावा हुरी भित्र्याएर
आफैं मात्र बाँचूँ भनी खुन खोज्नेहरू।
कसले सुन्ने कथा मेरो कसले सुन्ने गीत
भेट्दिन म अज्ञातका गुन खोज्नेहरू।
कवि अज्ञात यस खालका गजल बनाउन सफल भएकै कारणले यिनका गजलहरू पढ्न पाठकहरू रुचाउँछन्। जीवन प्रकृतिको अनमोल उपहार हो भन्न रुचाउने यिनी लोभ–लालसाको सिकार भइदिनुपर्ला भनी होसियार छन्। तीन दशकको साहित्यिक यात्रामा यिनले थुप्रै खालका साहित्यिक अनुभूतिहरू पोखेको देखिन्छ। कवितामा उनको आफ्नो छुट्टै दृष्टि छ। कविकविता ः एक आयामिक प्रतिक्रियामा उनी लेख्छन्–
द्रव्यमात्र धन होइन कविता पनि धन हो
हीरामोति मात्र रत्न होइन, कविता पनि रत्न हो
जति कविता त्यति नै समृद्ध
द्रव्यले दिन नसकेको सुख कविताबाट पाइन्छ।

औषधिबाट हुन नसकेको उपचार कविताबाट गरिन्छ।
त्यसैले कवि हुनमा हीनता होइन गर्व छ, मणि भएको नागजस्तो।
तर भाव वा विचारको कविता
धन जति कमायो उही चङ्गाझैँ भएर उड्छ मन।
त्यसैले भन्न सकिन्छ– कपिल अज्ञात भाषा साहित्यका एकजना सेवक र कलासाहित्यका भरपर्दा सहयोगी हुन्। शब्द–संस्कृतिका प्रयोगकर्ता। विभिन्न साहित्यिक सन्दर्भ र प्रसङ्गका यात्री। चितवनलाई महत्वको बनाउन र चितवनलाई चिनाउन लागिपरिरहेका एकजना स्रष्टा÷द्रष्टा। शिक्षा जगत्का एकजना मध्यम पुस्ताका मर्मशील सेवी। नेपाली भाषा साहित्यका अनन्य सेवी भएकै कारणले यिनले निरन्तर साहित्यको सेवा र सिर्जनामा नथाकीकन लागिरहेछन्।

यही सेवा र सिर्जनाकै नाम बनिदिएका छन् कपिल अज्ञात। कपिल अज्ञात शिक्षा क्षेत्रबाट चियाउँदै साहित्यका विविध विधामा आफूलाई समाहित तुल्याउँदै आएका एकजना सूक्ष्म दृष्टि भएका ज्योतिष विज्ञान सिक्दै गरेका सबल र सक्षम भविष्यद्रष्टा बन्न खोज्दै गरेका जीवनपथमा तरङ्गीत हुँदै आएका व्यक्ति हुन्। जसको अन्तर· मनका तर·हरु कर्मशील छन्। जो सधैँ शिक्षा, साहित्य भएर आफूलाई देखाइरहेछन्, उनै कपिल अज्ञात अनन्त साहित्यमा फैलिँदै सफल साहित्यकारका रुपमा सफलता मिलोस् भनी शुभकामना दिइरहेछु।

प्रतिक्रिया दिनुहोस्