आमैले भन्थे धाराको पानी फेरि पर्दामा



जमानाको सुपरहिट फिल्म साइनोको लोकप्रिय गीत आमैले भन्थे धाराको पानी सार्है नै चिसो नखाउ नानी अब फेरि पर्दामा हेर्न पाइने भएको छ। रिलिजको तयारीमा रहेको झमकबहादुर नामक फिल्ममा यो गीतको रिमिक्सि भर्सन हेर्न पाइने भएको हो। फिल्ममा रहेको यो गीतको श्रव्यदृश्य शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। कुसुम गजमेरको शब्द र रञ्जित गजमेरको संगीत रहेको गीतलाई ओम सुनारले रिमिक्स गरेका हुन्। यसको रिमिक्सि भर्सनमा ओमका साथ कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ।

‘चलचित्र साइनोमा भुवन केसीले प्रख्याति कमाइसकेको यो गीतमा अहिले अनुप विक्रमले नाचेका छन्, दर्शकले यसलाई कतिको मन पराउने हुन् आगामी दिनले तय गर्नेछु, कार्यक्रममा अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले भने। नेपाल टेलिभिजनका मनहोरि थापाले फिल्मको गीत राम्रो बनेको चर्चा गरे भने निर्देशक भोमन कटुवाल, नायक अनुपविक्रम शाही, कलाकार यादव देवकोटालगायतले फिल्मका बारे प्रकाश पारेका थिए। त्यसै गरी निर्माता मिनकुमार तामाङले फिल्म झुपडी र महलमा बस्नेबीचको द्वन्द्वात्मक हास्यप्रधान कथामा बनेको बताए।

आगामी जेठ ११ गते अल नेपाल रिलिज हुने फिल्म भोमन कटुवालले निर्देशन गरेका छन्। यूवी फिल्मस् ग्यालरी र दियालो इन्टरनेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्। राजु किँरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन, सूर्य र सलिनाको कोरियोग्राफी, तथा अनिलकुमार महर्जनको सम्पादन रहेको फिल्म पवन गौतम र जीवन पराजुलीले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्