इतिहास बनाउँदै



कमल ढकाल
आजको काम भोलिका लागि इतिहास हो। यो समयले भोलिको त्यो समयलाई पढाउँछ। आफ्नो नाम इतिहासमा सुनौलो बनाउनेभन्दा पनि पैसा कमाउन पर्छ भन्ने शिक्षा नेताबाट प्रत्यक्ष अप्रत्यक्ष आइरहेको यो निरश बेलामा मान्छेहरु आफ्नो इतिहासभन्दा पनि पैसाका लागि मरिहत्ते गरिरहेको भेटिन्छ। राम्रो काम गरौं इतिहासमा नाम राखांै भनेर लामो बाटो रोज्ने धेरै कम छन्। तु खाजा खाने चाउचाउ संस्कृतिको अहिलेको यो युगमा पनि धेरै थोरै मान्छे देशको मायामा भावुक बन्दै आफ्नो पैसा खर्च गरेर पनि काम गरिरहेका छन्। थोरै यस्ता मान्छेले बालेको मैनबत्तीले नै देश उज्यालो भइरहेको छ।

काम गर्दै जादा सम्झदै आउने पनि कोही हुन्छन्। काम गर्नेले यस्तो आउला र यो गरौंला भनेर सोच्दैन। आफ्नै तालमा काम गरिरहेको संशोधन मण्डलले साच्चै इतिहासका पुराना संशोधनहरु गरिरहेको छ। नयाँ इतिहास बनाइरहेको छ। लेखिँदै गएको नयाँ इतिहासमा महेशका दाजुभाइ र संशोधन मण्डल जोडिँदै गएको छ। पुराना इतिहास भत्काउँदै नयाँ इतिहास बनाउँदै जादा महेशको आफ्नै इतिहास लोभ लाग्दो गरी थाहै नपाइ कोरिरहेको छ।

डाक्टर महेशराज पन्त पनि त्यस्तै राम्रा मान्छेमध्ये एक हुन्। पैतालिस वर्षदेखि देशको इतिहास खोतल्दै नयाँ इतिहास कोर्दै छन् महेश। मेहश उनका बाबु नयनराज पन्तले खोलेको संशोधन मण्डलका विद्यार्थी हुन्। पढाइ सकाएर आएपछि पनि पढाइमा अपूर्णता फिल गरेका कारण नयनराजले संशोधन मण्डल खोलेर इतिहास र संस्कृतिको अध्ययन गर्ने छुट्टै थलो बनाएका थिए। ३१ जनाबाट अक्षर प्रारम्भ भएको संशोधन मण्डलमा जति पछि भयो उति मान्छे घट्दै गए। कारण थियो यसको सरकारी मान्यता नहुनु। यहाँ पढेपछि सरकारी जागिर खान नपाइनु।

८ वर्षको कोर्स थियो। जुन सकेपछि बीए सरह भनिन्थ्यो। इतिहासमा पीएचडी गर्नेले नजान्ने भाषा लिपि सिकाउँथ्यो संशोधन मण्डलले। क्रोनोलोजी डेटका बारेमा, लिपिका बारेमा पालियोग्राफी, डाइनेस्टिक हिस्ट्रि, राजाको पालाको इतिहास खोज्ने काम जस्ता विषय त्यो ८ वर्षभित्र संशोधन मण्डलमा पढाइन्थ्यो। इतिहास र संस्कृत भाषामा दक्ष बनाएर निकाल्थ्यो संशोधन मण्डल नजन्मेको भए नेपालको इतिहासमा धेरै ग्याप हुने कुरा महेश बताउँछन्।

विद्यार्थीका रूपमा २००७ सालमा पढ्न गएका महेशका दाजुभाइ अहिले नेपालको इतिहास खोतल्नेमा प्रकाण्ड विद्वान् बनेर निक्लेका छन्। संस्कृतमा ≈याम्बर्ग विश्व विद्यालयबाट पीएचडी गरेका महेश ९ वर्षअघि जर्मनबाट फर्केका हुन्। इन्डोलिजि इन्डियन स्टडिज पढाउने महेश प्राध्यापनको पेन्सन पकाएर आफ्नै देशका लागि केही गरौं भनेर नेपाल फर्केका व्यक्ति हुन्।
२०१८ सालदेखि प्रकाशनमा आएको संशोधन मण्डलले २०२१ देखि रेगुलर पत्रिका निकालेको छ। दैनिक १५०० खर्च गरेर लुज ब्यटल (हार्ने युद्ध) लडिरहेका छन् महेश। घरकाले पनि १ पैसा आम्दानी गर्दैन सिध्याउँछ भन्ने गरेको महेश बताउँछन्। आखिर महेशको अम्मल नै यही बनेको छ। अम्मलमा पैसा खर्च गर्ने अम्मली झैं उनले संशोधन मण्डलका लागि आफ्नै घरको अफिसमा चार पाँच जनालाई रोजगारी पनि दिएका छन्। बाबुले बालेको इतिहासको दियो मर्न नदिन जेठो छोराको नाताले उनले संशोधन मण्डलमा काम गरिरहेका छन्। महेशका भाइ पनि यस कार्यमा खटिरहेका छन्।

महेशको परिवारका १ छोरा २ छोरी प्वाँख पलाएर उडिसके। सबै देश छाडेर बाहिर हिँडेका छन्। १ छोरा मेधावी जर्मनीमै बसेका छन् भने जेठी छोरी मनिषा क्यानडामा ज्वाइसहित छन् अनि कान्छी छोरी मिमांशा पनि बाहिरै। परिवारको कोही सदस्यले यसमा साथ नदिए पनि आफ्नो सास छन्जेल नेपालको इतिहासका ठेली पल्टाउँदै, स्थलगत अध्ययन गर्दै नेपालको इतिहास मर्न नदिने कुरामा लागिरहेका छन् महेश।

नेपालको इतिहासमा जति इतिहास पत्ता लगाएको छ त्यसको ८० प्रतिशत संशोधन मण्डलकै कारण सम्भव भएको महेशको दाबी छ। इतिहासकार धनबज्र वज्राचार्य, ज्ञानमणि नेपाल पनि संशोधन मण्डलकै प्रोडक्ट भएको बताउँदै थिए महेश। सरकारले गर्नुपर्ने काम मदर टेरेसाले भने जस्तै प्रत्येक व्यक्ति सरकार हो भन्ने पारामा महेशले गरिरहेका छन्।

आँखा चिम्लेर बोल्दै विदेशीको पैसा नलिइकन ६ दशकदेखि काम गरेको नेपालकै १ मात्र संस्था भएको दाबी गर्छन् महेश। तीनतीन महिनामा निक्लने पूर्णिमा त्रैमासिक १३६ अंक निक्लिसकेको छ। लेखहरु र सम्पादन त्यतिकै निकालेका छन्। यत्रो वर्षदेखि एकै काममा लाग्दा न कमाइ छ न कसैले नाम दिएको छ दिक्क लाग्दैन भनेर सोध्दा महेश भन्छन् –‘यो काम मैले गरिन भने अर्काे मान्छेले गर्दैन नेपाल आमाको इतिहास खोज्न जानेको छु त्यो मैले गर्नै पर्छ।’

भर्खरै पाएको जगदम्बा पुरस्कारले उनको संस्थालाई सम्मान गर्दै भनेको छ।‘६ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरुकुलीय संगठित र संस्थागत प्रयासबाट प्रमाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथा प्रचारका लागि पूर्णिमा पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङमयको सेवा श्रीवृद्धिमा निरन्तर रुपले उल्लेखनीय योगदान गरेबापत् संशोधन मण्डललाई जगदम्बा श्री पुरस्कार दिइएको छ।’

काम गर्दै जाँदा सम्झदै आउने पनि कोही हुन्छन्। काम गर्नेले यस्तो आउला र यो गरौंला भनेर सोच्दैन। आफ्नै तालमा काम गरिरहेको संशोधन मण्डलले साच्चै इतिहासका पुराना संशोधनहरु गरिरहेको छ। नयाँ इतिहास बनाइरहेको छ। लेखिँदै गएको नयाँ इतिहासमा महेशका दाजुभाइ र संशोधन मण्डल जोडिँदै गएको छ। पुराना इतिहास भत्काउँदै नयाँ इतिहास बनाउँदै जादा महेशको आफ्नै इतिहास लोभलाग्दो गरी थाहै नपाइ कोरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्