सिमेन्ट उद्योगहरू बन्द हुने अवस्थामा



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्।

क्लिंकर आयातमा उत्पन्न समस्या समाधान नभएपछि यस क्षेत्रमा सञ्चालित उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन्। सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ क्लिंकर, कोइला, जिप्सम, फलाइ–एसलगायत कच्चा पदार्थ रक्सौलबाट ल्याउन रोक लागेपछि यस क्षेत्रमा रहेका १३ वटा सिमेन्ट उद्योगसँगै अन्य जिल्लाका सिमेन्ट उद्योगहरू पनि बन्द हुने अवस्थामा पुगेका छन्।

सिमेन्ट उत्पादनको लागि आयात गरिने क्लिंकर रक्सौलबासीको आन्दोलनका कारण रक्सौलबाट नआएको ५ दिन बित्न लागेको छ। गत डिसेम्बर २२ तारिखदेखि क्लिंकर रक्सौलबाट नआएको वीरगन्जस्थित त्रिशक्ति सिमेन्टका सञ्चालक सज्जन चाचाले बताउनुभयो। उहाँले स्टकमा रहेको क्लिंकरलगायतका कच्चा पदार्थ सकिनै लागेको बताउनुभयो। क्लिंकर आयातमा रोक लागेपछि तीन दिनदेखि उत्पादनमा ५० प्रतिशत गिरावट आएको पनि उहाँको भनाइ छ। प्रतिदिन १ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हँुदै आएकोमा तीनदेखि करिब ५ सय मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भइरहेको छ।

वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रमा विश्वकर्मा, त्रिशक्ति, अम्बे, कलश, ओम, रिलायन्स, सालिमार, जगदम्बा, एभरेस्टलगायतका सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। एक सातादेखि सरकारी निकायले क्लिंकर समस्या समाधान गर्न चासो नदेखाएको व्यवसायीहरूको भनाइ छ। यदि क्लिंकरको अभावमा सिमेन्ट उद्योग बन्द भए अर्बौं रुपियाँको लगानी डुब्ने निश्चित रहेको व्यवसायीहरू बताउँछन्।

क्लिंकर लोड अनलोड गर्दा धुलो उड्छ। धुलोले रक्सौलका जनताको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ। विगत १० वर्षमा धेरैलाई फोक्सोको क्यान्सरसमेत भएको छ। फोक्सोको क्यान्सर र श्वासप्रश्वासको समस्याबाट करिब ७ जनाको अल्पायुमै मृत्यु भइसकेको रक्सौलवासीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्