यस साता पुँजी बजारमा ६६ अर्बको नोक्सान



नेपाल समाचारपत्र
काठमाडौं
पुसको दोस्रो साता नेप्से परिसूचक ५३ दशमलव ३७ अंकले घटेको छ। चार दिनमात्र कारोबार भएको यस साता १ हजार ४ सय ७२ दशमलव १५ अंकबाट शुरू भएको बजार साताभरि नै ओरालो लाग्दा १ हजार ४ सय १४ दशमलव ७८ बिन्दूमा पुगेर रोकिएको हो।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सकिएपछिको तेस्रो पनि राजनीतिक अवरोधले निकास नपाएको यस साता बजारमा कारोबार रकम बढे पनि परिसूचक भने ओरोलो लागेको छ। चार दिनमात्र कारोबार भएको बजारमा यस साताको कारोबार रकम पाँचै दिन कारोबार भएको अघिल्लो साताभन्दा ४ दशमलव शून्य १ प्रतिशत बढी छ। यस साता नेप्सेमा २ अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सोक्रममा नेप्सेमा १ सय ७४ कम्पनीका ५७ लाख २५ हजार २ सय ६० कित्तँ शेयर किनबेच भए। सातभरि कूल २७ हजार १ सय ५३ कारोबार भए।

अघिल्लो साता बजारमा १ सय ७७ कम्पनीका ५७ लाख ११ हजार कित्ता शेयर २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपियाँमा कारोबार भएका थिए। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) साढे ६६ अर्ब रुपियाँभन्दा बढीले घटेको छ। यत साता बजार पुँजीकरण १७ खर्ब ११ अर्ब ९८ करोड रुपियाँबाट घटेर १६ खर्ब ४५ अर्ब २९ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।

नेप्से परिसूचक घट्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ११ दशमलव ३९ अंकले घटेर २ सय ९७ दशमलव ६२ अंकमा आइपुगेको छ।

यता बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य पुँजीको अभाव भएपछि निक्षेपमा आकर्षक ब्याजदर घोषणा गरेसँगै शेयर बजारमा त्यसको प्रभाव परेको जानकारहरूले बताएका छन्। निक्षेपमा आकर्षक ब्याजदर पाउने भएपछि लगानीकर्ता त्यता तानिंदा शेयरको माग कम हुँदा मूल्य घटेको हो।

राजनीतिक संक्रमणकालको अन्त्य हुँदै प्रतिनिधि र प्रदेशसभाको चुनाव सकिएसँगै पुँजी बजारका लगानीकर्ता बजार सकारात्मक हुनेमा ढुक्क थिए। तर, तीन तहका चुनावपछि पनि बजारले भने गति लिन सकेको छैन। लामो समयसम्म पुँजी बजार अन्योलमा रहनुमा नयाँ सरकारको गठन हुन ढिलाइ हुनु नै प्रमुख कारण मानिएको छ।
बजारमा राजनीतिक अस्थिरताका कारण लगानीकर्ताले असुरक्षित महशुस गरेको उनीहरू बताउँछन्। पुँजी बजारका विषयमा नयाँ सरकारले ल्याउने योजना, ब्रोकर कम्पनीलाई भ्याट लगाउने विषयलाई लिएर लगानीकर्ता अन्योलमा छन्।

पुँजीवृद्धि योजनाले धितोपत्र बजारमा थप भएका नयाँ शेयरका कारण बजारको आकार ह्वात्तै बढेको छ। बजारमा शेयरको फ्लो धेरै भए पनि सोही अनुसारको माग सिर्जना हुन नसक्दा बजारमा दबाब परेको छ। पछिल्लो समयमा अधिक आपूर्ति बजारको लागि प्रमुख चुनौतीको रूपमा खडा भएको छ।

यस साता कारोबारमा आएका १० वटामध्ये सबै समूहमा गिरावट आउँदा समग्र बजार परिसूचक ओरालो लागेको हो। घट्नेमा सबैभन्दा धेरै बीमा समूह ३ सय १५ दशमलव ९८ अंकले घट्यो। त्यस्तै विकास बैंक, जलविद्युत् र लघुवित्त समूह क्रमशः ९० दशमलव ३७, ७१ दशमलव ३६ र ६२ दशमलव ८३ अंकले ओरालो लाग्दा बैंकिङ, उत्पादनमूलक र होटल समूह पनि क्रमशः ५४ दशमलव ४६, ३७ दशमलव ७७ र ३० दशमलव ९४ अंकले ओरालो लागे।

त्यसैगरी वित्त समूह २१ दशमलव ४४ अंकले ओरालो लाग्दा अन्य र ट्रेडिङ समूहका परिसूचक पनि क्रमशः २० दशमलव ५३ र २ दशमलव ६२ अंकले गिरावट आयो।
यस साता कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो। बैंकको कूल ५० करोड ३६ लाख ६० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार भएको शेयर संख्याको आधारमा प्रभु बैंकले शीर्ष स्थान ओगटेको छ। यस साता बैंकका ३ लाख ४८ हजार कित्ता शेयर कारोबार भएका थिए। कारोबार संख्याको आधारमा पनि स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो छ। बैंकका कुल ४ हजार ६ सय ९३ वटा कारोबार भएका थिए। सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल दूरसञ्चार कम्पनी, एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयर रहे।

प्रतिक्रिया दिनुहोस्