कायरोको इसाई क्षेत्रको हमलामा १२ मारिए



कायरो, (एजेन्सी)
इजिप्टको राजधानी कायरोको दक्षिण भागमा रहेको हेल्वान क्षेत्रस्थित कोप्टिक क्रिस्चियन्समा शुक्रबार भएको दोहरो आक्रमणमा कम्तीमा १२ जना मारिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

कायरोको दक्षिण भागमा रहेको एउटा चर्चमा एक्कासि अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा १० जनाको ज्यान गएको थियो भने प्रहरीले तत्कालै तिनीहरुलाई रोक्ने प्रयास गरेको थियो। त्यसको करिब एक घन्टापछि सोही क्षेत्रमा रहेको एकजना कोप्टिक क्रिस्चियनको पसलमा भएको अर्को आक्रमणमा अन्य दुई जना मारिएका थिए।

इजिप्टमा यस्तैखाले आक्रमणमा विगत एक वर्षभित्र सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसखाले आक्रमणको जिम्मेवारी प्रायशः तथाकथित इस्लामिक स्टेट (आईएस) समूहले लिने गरेको छ। यस आक्रमणलाई मध्यनजर राख्दै सुरक्षाफौजले त्यहाँ सम्पूर्ण नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ। तिनीहरुले नयाँ वर्षका बेला हुन सक्ने थप आतंककारी आक्रमण रोक्ने अभियान चलाएका छन्।

गस्तीमा रहेको प्रहरी टोलीले चर्चनजिक दुई जनालाई आक्रमणको केही समय पहिले शंकास्पद स्थितिमा फेला पारेको कायरोस्थित बीबीसीका पत्रकार राद्वा गामालले बताएका छन्। प्रहरीनजिक आउनासाथ तिनीहरुले अचानक फायरिङ गरेका थिए। मारिनेमध्ये मारमिना चर्चको सुरक्षामा खटिएका तीन जना प्रहरी अधिकृत पनि रहेका छन्।

मारिएका एक जना आक्रमणकारीको शरीरमा एउटा विस्फोटक पदार्थ भरिएको पेटी पनि फेला परेकाले तिनीहरुको अर्को भयानक आक्रममण गर्ने योजना रहेको देखिन्छ। सो विस्फोटक पदार्थलाई सुरक्षित ढंगले निस्क्रिय पारिएको थियो। घटनास्थलबाट तत्कालै भाग्न सफल अर्काे बन्दुकधारीलाई केही समयपछि हातहतियारसहित पक्राउ गरिएको थियो।
मुस्लिम समुदयाको बाहुल्य रहेको इजिप्टमा बारम्बार अल्पमत इसाईहरुमाथि आक्रमण हुने गरेको छ। गत अप्रिलमा नाइल डेल्टा शहर टान्टा र अलेक्ज्यान्ड्रियास्थित कोप्टिक चर्चहरुमा भएका यस्तै दोहोरो आक्रमणमा कम्तीमा ४५ व्यक्ति मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्