सांसद बन्न नपाएपछि माओवादीमा कुटाकुट, राजपाको कार्यालयमा तोडफोड



काठमाडौं । प्रदेशसभाको समानुपातिक सांसद चयनमा नेताहरुबीच कुटाकुटदेखि कार्यालय तोडफोडसम्मका काम भएका छन । कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका बीचमा भने मुख धेरै चलेकाले हात हालाहालको अवस्था आएन । यता माओवादीको बैठकमा भने कुटाकुटकै अवस्था सिर्जना भएको छ । प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच कुटाकुट भएको हो । शुक्रबार माओवादी मुख्यालय पेरिसडाँडामा भएको बैठकमा नेताहरुबीच कुटाकुट चलेको हो । माओवादी नेता हिमाल पराजुलीले माओवादी केन्द्रका प्रदेश नम्बर तीनका इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीलाई कुटपिटको प्रयास गरेका हुन । उनले ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद बनाउने तर आफू बन्न नपाएको भन्दै हात हालेका हुन । हिजै सांसद नबनाएको भन्दै राजपाको केन्द्रीय कार्यालयमा एउटा समूहले तोडफोड गरेको छ । प्रदेशसभा सांसद नबनाइएको रिसमा शुक्रबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा तोडफोड भएको हो । राजपामा समानुपातिकको बन्द सूची बुझाउने सयममा पनि चर्को विवाद देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्