आफूखुसी योजना पास गराउँदै स्थानीय जनप्रतिनिधि



सञ्जय कार्की, रौतहट
लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन भएका छन्, तर उनीहरूको काम नै यतिखेर आलोचित हुन थालेको छ। विकासको योजनाभन्दा पनि आफूखुसी लाभ हुने योजना पास गराउन स्थानीय तहका जनप्रतिनिधि लागिपरेका छन्।

संघीय तथा स्थानीय विकास मन्त्रालयले यसअघि स्थानीय तहका जनप्रतिनिधिलाई तलब, सेवा सुविधालगायतका विषयमा निर्णय नगर्न पत्राचार गरे पनि रौतहटको ईशानाथ नगरपालिकाले त्यसविपरीत निर्णय गरेका छ। गएको पौष ४ गते ईशानाथ नगरपालिकाको दोस्रो बैठकले प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरूको तलब, भत्ता, इन्धनलगायतको सुविधाको निर्णय गरेको खुल्न आएको छ।

ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताको अध्यक्षतामा बसेको कार्यपालिकाको दोस्रो बैठकबाट प्रमुखको मासिक ३५ हजार तलब, ७ हजार सञ्चार, १५ हजार अतिथि सत्कार र आवश्यकताअनुसार इन्धन, उपप्रमुखको तलब २५ हजार, ५ हजार सञ्चार, ५ हजार अतिथि सत्कार, आवश्यकताअनुसार इन्धन र वडाध्यक्षको तलब २० हजार, ५ हजार सञ्चार, ५ हजार अतिथि सत्कार, आवश्यकताअनुसार इन्धन पाउने निर्णय गरेको छ।

यस्तै नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने तलबमै थप ४० प्रतिशत दिने निर्णय भएको स्रोतले बतायो। नगर प्रमुख सन्तोष मेहताले नगर कार्यपालिकाको बैठकबाट सेवा सुविधा पाउने निर्णय भएको बताउनुभयो। सोही बैठकबाट नगरपालिकाको ९ वटै वडा र कार्यालय प्रयोजनका लागि १३ वटा मोटरसाइकल, ट्रयाक्टर दुई वटा, जेसिबी मेसिन– १ थान र प्रमुख चढ्नका लागि हाइटेक जिप खरिद गर्ने निर्णय गरिएको छ। कार्यपालिकाबाट गरिएको निर्णयलाई परिषद्बाट पास गराउन लागिएको छ।

यस्तो निर्णयले जनप्रतिनिधिकै सवा सुविधामा वार्षिक ४५ लाख खर्च हुने देखिएको छ। विकास निर्माणको काम ओझेलमा पर्ने देखिन्छ। रौतहटका २ वटा गाउँपालिकासहित १८ वटा नगरपालिका रहेका छन्। नगरको विकासमा जनप्रतिनिधिको जोड रहनुभन्दा पनि आफनो सवा सुविधाको वृद्धिमा लागिपरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। स्थानीय तहको कार्यभार सम्हालेदेखि नै नगरपालिकाको बजेटबाट प्रमुखले भारतीय नम्बरको सवारीसाधन चढ्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्