मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै



विनोदसिंह विष्ट, बैतडी
बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरू भएको छ। मेडिक मोबाइलको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत् गर्भवतीको तथ्यांक राख्न शुरू गरेको हो।

प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरू भएको मेडिक मोबाइलका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो। ‘पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ’, उहाँले भन्नुभयो– ‘अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तालिम दिने कार्य शुरू भएको छ।’

महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थनर्स ममता जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘मातृमृत्युदर र बालमृत्युदर घटाउन यो कार्यक्रमले सहयोग पुग्नेछ।’

बैतडीको पाटनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मोबाइल कार्यक्रमले सहज भएको स्वास्थ्यकर्र्मीले बताएका छन्।१ महिना अघिदेखि शुरू भएको पाटन नगरपालिकामा रहेका गर्भवर्ती महिलालाई गर्भचेकजाँच गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूको मोबाइलमा म्यासेज आउने भएकाले सजिलो भएको हो। यसका लागि नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेपछि यो कार्यमा सहज भएको पाटन नगरपालिकाका स्वास्थ्य इन्चार्ज मदन महराले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नगरपालिकाभित्र रहेका १० वटै वडाका १ सय ९ महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाइसकेपछि गाउँठाउँका गर्भवती महिलालाई स्वास्थ्यसस्थामा चेकजाँच गर्न लैजानका लागि झनै सहज भएको छ।’ स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा महिनामा १ सयको रिचार्ज पनि स्वास्थ्यचौकीले नै उपलब्ध
गराउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्