शिलान्यास भएको दुई वर्षमा पनि निर्माण अधुरै



उत्तम नेपाल, भद्रपुर
शिलान्यास भएको दुई वर्ष बितिसके पनि झोलुंगे पुल निर्माण सम्पन्न हुन सकेको छैन। झापाको भद्रपुर नगरपालिका–३ स्थित मेचीपारिवासीका स्थानीयलाई मध्यनजर गर्दै निर्माण शुरू गरिएको पुल समयमा नबनेका कारण गाउँलाई समस्या भएको हो। गाउँमा बिजुली आए पनि पुल नबन्दा उनीहरूको पीडा जस्ताको त्यस्तै छ।

निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने झोलुंगे पुलको काममा २८ महिनामा पनि सकेको छैन। ठेकेदारले निर्माण कार्य अलपत्रमा छाडेर बेपत्ता बनेपछि अहिले स्थानीय नदी तर्न बाध्य छन्। हिउँदमा त नदी तर्दा समस्या छैन, तर बर्खाको तीन महिना स्थानीयको आवतजावत नै ठप्प हुन्छ। उनीहरू नेपाली नागरिक भए पनि भारतमा निर्भर हुन बाध्य परेका छन्।

भारतीय भूमिसँग जोडिएको मेची नदी पारी टापु आकारमा रहेको सानो गाउँलाई भद्रपुरसँग जोड्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०७२/७३ मा एउटा योजना अघि सारेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सत्ता सम्हालेको सरकारले मेचीपारिवासीको सेवासुविधालाई मध्यनजर गर्दै मेची नदीमा झोलुंगे पुल निर्माणका लागि बजेट निकासा गरेको थियो। नदीमा झोलुंगे पुल बन्ने दशकौदेखिको सपना पूरा हुन लागेपछि मेचीपारिका १ सय ४० घरपरिवारमा खुसीयाली छायो। तर, मेचीपारीवासीको खुसीयालीलाई निर्माण कम्पनीले ग्रहण लगाइदिएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ गत एक भव्य समारोहका बीच पुलको शिलान्यास गर्दै समयमा काम सम्पन्न गराउन सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई जानकारी गराए पनि त्यसले निरन्तरता पाउन नसक्दा स्थानीयमा फेरि निराश छाएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट यो पुल बन्न लागेको हो। भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपियाँमा निलगिरी सेवा प्रालि बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो। २ सय ८० मिटर लामो र १३ मिटर चौडाइसहितको पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका हुन्। तोकिएको समय अवधि सकिएर १० महिना बढी भइसकेको छ। अहिले निर्माणस्थलमा एउटा टहरामा दुई÷चार जना कामदार बस्दै आएका छन्। दुई वटा पिलरको काम अधुरो बनाएर छाडिदिएका छन्। पुलको लागि ल्याएका सामग्री खिया लाग्न र सिमेन्ट डल्लो पर्ने थालिसकेका छन्। तर, ठेकेदारको अत्तोपत्तो छैन।

यसतर्फ झापाका सम्बन्धित निकायले समेत वेवास्ता गरेको प्रति स्थानीयले गुनासो पोख्न थालेका छन्। दशैंअघि दुईवटा पिलरको अधुरो काम सकेर बेपत्ता भएको ठेकेदार अहिलेसम्म देखा नपरेको स्थानीय हावालाल सिंह राजवंशीले गुनासो पोखे। ‘तीन वर्षदेखि पिलर उठाउने काम मात्र भइरहेको छ’, उनले भने– ‘कसको कमजोरी हो बुझनै सकेका छैनौ। फेरि बर्खा आउन केही महिना मात्र बाँकी छ, हाम्रो पीडाको सुनवाइ भएन ।’

‘दुई महिना काम हुन्छ भने चार महिना बन्द हुन्छ’ –स्थानीय मिस्त्री राजवंशीले बताए। ‘एक वर्ष आफ्ैले पुलको रेखदेखको जिम्मा लिएर हेर्दै आएका थियौं’, उनले भने– ‘तर कामले निरन्तरता नपाएपछि हेर्ने जिम्मेवारी छाडिदियौं।’

प्रतिक्रिया दिनुहोस्