सप्तरीको राजविराजमा वर्षौदेखि दुषित दुधको कारोबार



शिवहरी प्रसाद भट्टराई, राजविराज । दुधको गुणस्तर परिक्षण गर्ने नाममा हात डुवाउने परम्परा नत्याग्दा सप्तरीको राजविराजमा वर्षौदेखि दुषित दुधको विक्रि हुँदै आएको छ । पानीको मात्र निरिक्षण गर्ने नाममा हात डुवाउने परम्पराको विकल्प नखोजिँदा दुसित दुधको विक्रि वितरण वढेको हो ।
वालवच्चा, वृद्धवृद्धा, र विरामीले समेत प्रयोग गर्ने दुधमा हात डुवाएर फोहोर नगर्न आग्रह गर्दा ग्राहकहरु अटेर गर्न थालेपछि आफुहरुले समेत वास्ता गर्न छोडेको ब्यापारी जिवछीदेवी यादवले वताईन् ।
दुधमा पानीको मात्रा कम भए हातमा टाँसिएर वस्ने तथा पानीको मात्रा वढि भए वगेर जाने मान्यताका आधारमा यस्तो अवस्था आएको स्थानीय राजेश चौधरीले वताए ।
यसैगरी, दुधको विक्रि वितरणका लागि वजारका उचित ब्यवस्थापन नभएको, दुधको मुल्य निर्धारण नहुदा सस्तो दरमा दुध विक्रि गर्नु पर्ने वाध्यता रहेको भन्दै ब्यापारीहरुले गुनासो गरे ।
सदरमुकाम राजविराज लगायत आसपासका नगरपालिका तथा गाउँपालिकाका जमनुनी मधेपुरा, मलेठ, फर्सैठ, वोरिया, रञ्जितपुर, वरही विरपुर, वेल्ही, देउरी भरुवा, विसहरीया, सिम्रहा सिंगियौन लगायतका दर्जनौ स्थानवाट राजविराज हटियामा ल्याएर दुध विक्रि वितरण गरिन्छ । प्रत्येक दिन करिव २ हजार लिटर दुध अशुद्ध भएरै विक्रिवितरण हुने गरेको स्थानीय राजेश चौधरीले वताए ।
वर्षौदेखि चल्दै आएको दुध परिक्षणको परम्परागत प्रकृया नियन्त्रण र परिवर्तन गर्न स्थानीय नागरिकहरुले माग गरेका छन् ।
हात डुवाएर दुध परिक्षण गर्ने परम्पराका विषयमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेशकुमार यादवले यसको हालसम्म ठोस पहल नभएको स्विकार्दै विकल्प खोजीने वताए ।

प्रतिक्रिया दिनुहोस्