विराटनगर र भैरहवा तेस्रो पटक भिड्दै



नेपाल समाचारपत्र
काठमाडौं
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच तेस्रो पटक भिडन्त हुने भएको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा भैरहवाले ललितपुर प्याट्रियटसलाई ३ विकेटले हराएपछि विराटनगरसँग शनिबार हुन फाइनल खेल्ने तय गरेको हो । यसअघि यी दुई टोलीबीच दुई पटक भेट भएको थियो । जसमा एक पटक समूह चरणमा र अर्को पटक पहिलो क्वालिफायरमा आमने सामने हुँदा दुबै पटक विराटनगरले बाजी मारेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुरले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ३२ रन बनाएको थियो । जसमा जयकिसन कोल्सावालले सर्वाधिक ४२ रन जोडेका थिए । त्यस्तै सन्नी पटेलले २४ रन बनाए भने दिपेश भण्डारीले ९ बलमा २ चौका र २ छक्का हान्दै २२ रन योगदान दिँदा ललितपुरको स्कोर केही बढेको थियो । तर यो स्कोर उनीहरुले बचाउन नसक्दा फाइनल खेल्नबाट वंचित भएको थियो ।

भैरहवाले ८८ रनमा शरद भेषवाकर र आरिफ शेखसहित ६ शीर्ष ब्याटसम्यानलाई गुमाउँदा ललितपुरको जित्ने आस भइसकेको थियो । तर मध्यक्रमका ब्याटसम्यान रोहित पौडेललाई आउट गर्न नसक्नु नै ललितपुरले हातमा आइसकेको खेल गुमाउनु पर्यो । अन्तिम ओभरमा भैरहवाका लागि जित्न १३ रनको आवश्यक थियो । रोहितले दीपेश भण्डारीको पहिलो दुई बलमै छक्का प्रहार गरे भने तेस्रो बलमा एक रन लिएर भैरहवालाई फाइनलमा पुर्याए । उनी २८ रनमा नटआउट रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्