राजधानी काठमाडौंप्रतिको बेवास्ता र हेलचेक्र्याइँ



रमेशकेशरी वैद्य, काठमाडौं
बढ्दो जनसंख्या, अव्यवस्थित सवारीसाधन र बिग्रे–भत्केको सडकका कारण राजधानी कुरुप बनेको छ। नेताहरुले रेल ल्याउने, पानीजहाज ल्याउनेजस्ता सपना सर्वसाधारणलाई बाँडेका हुन्छन्। यथार्थमा नेताका कुरा बोलीमा नै सीमित रहेको हुन्छ। राजनीतिक जञ्जालमा यिनीहरु यति व्यस्त भइरहेका हुन्छन् कि कसैको सुझावका कुरा, लेख पढ्ने यिनीहरुलाई फुर्सद हुँदैन। यिनीहरुलाई खाली आफ्नो सत्ता लम्ब्याउने र राजनीतिक कलहमा अल्झिराख्नमा नै आनन्द आउँछ। वास्तवमा भन्ने हो भने, यहाँ देश चलाउने भनौं वा नेताहरु भनौं, ज्यादै बाठा तथा धुर्त हुन्छन्। कारण आफ्नो फाइदाका लागि हरेक राजनीतिक सम्झौतामा एउटा न एउटा अंकुश लगाइराखेका हुन्छन्। जसले गर्दा राजनीतिक कलह सधैँ लम्बिराखेको हुन्छ। यसको असर मुलुकलाई परिराखेको हुन्छ तर यिनीहरुलाई भने खासै असर परिराखेको हुँदैन। कारण यिनीहरु हरेक दृष्टिकोणले पहलमानजस्तै बलियो भइराखेका हुन्छन्।

अब आएर सर्वसाधारणको चाहना यो छ कि राजधानी तथा मुलुकको विकास एकदम द्रुतगतिमा होस्। सर्वप्रथम राजधानीका कुरा गर्दा क्रसिङ ब्रिजहरुको मर्मत तथा रंगरोगन हुनु आवश्यक छ। फोहोर, जथाभावी पसलहरु अनि दुर्घटना आदिले गर्दा यो ठाउँको वातावरण नै नरमाइलो लाग्छ। सरकारले छिटोभन्दा छिटो यसतर्फ ध्यान पुर्याउनु जरुरी छ। यसै सन्दर्भमा कुरा गर्दा, न्यूरोड गेट साइडमा पनि प्रायः दुर्घटना भइरहने हुँदा न्यूरोड ढोकालाई नै सानो क्रसिङ ब्रिज बनाइदिँदा हरतरफबाट सुविधा हुनेछ। तर यसको लागि सम्पदा तथा पुरानो सोचलाई छोडी बाटो काट्ने पुल सम्बन्धित निकायले बनाउनु जरुरी छ। अनि मात्र यहाँका दुर्घटनाहरु कम हुँदै जानेछन्।

सरकार सधैँ रेल ल्याउने कुरा गरेर फाइदा मात्र सोचिराखेको हुन्छ, तर सर्वसाधारणलाई सवारी सुविधाको लागि राजधानीको रिङरोडवरिपरि मोनोरेलहरु राख्ने योजना बनाइराखेको हुँदैन। यसतर्फ पनि सरकारले ध्यान पुर्याउनै पर्दछ। राजधानी तथा मुलुकमा धेरै फ्री पार्कहरु हुनु, झरना, फोहरा, हरियाली हुनु देशका सोभा हुन्। तर यहाँ यी कुरा भएर पनि व्यवस्थित, सफा छैन। यसप्रति सरकार विल्कुल नै अनभिज्ञ भएको अनुभव हुन्छ। यी कुरा सरकारसमक्ष औंल्याउँदा पनि सरकारले वास्ता गर्दैन भने गर्ने के त ?

अहिले तरकारी बजार, फुटपाथ, पार्किङका साथै आमसभा गर्ने खुल्ला स्थानाहरुको कमी महसुस भएको छ। यसको समाधान पनि हामीसँग नै छ। अब खुल्ला मञ्चलाई नै हेरौं, हुन त अहिले केही समयको लागि यो स्थान नगरपालिकाको साइडमा भवन निर्माणले अस्थायी प्रयोगमा छ। तर भोलि यही स्थानको कुरा गर्ने हो भने यो स्थानबाट हामीले चार–पाँच किसिमले फाइदा लिन सक्छौं। सर्वप्रथम त खुल्लामञ्च सरकारी कार्यक्रम, आमसभा तथा नाचगानका लागि उत्तम स्थान हो, जुन सधैँ भइरहेकै पनि हो।

यो स्थान बिहान ६ देखि ९ बजेसम्म एक समय तरकारी बजारका लागि प्रयोग गर्दा सबैलाई सुविस्ता हुनेछ। यदि नगरपालिकाले कडाइ तथा सफाइको जिम्मा लिने हो भने यो असम्भव कुरा होइन। कारण बाटोमा तरकारी तथा फलफूल बजार गर्न दिनु अशोभनीय हुनुका साथै फोहोर बढाउने माध्यम भएको छ। यही स्थानमा १० बजेदेखि साँझ ५ बजेसम्म स–साना पसल बनाई तरकारी बजारमा परिणत गर्ने हो आयस्रोतका हिसाबले राम्रै हुनेछ। खालि रहेको जग्गा सबैका लागि प्रयोगमा आउँछ भने यो राम्रै कुरा हो। प्रयोगपछि सरसफाइमा सबैले ध्यान दिनु जरुरी छ।
खुल्लामञ्च हेर्दा सानो देखिए तापनि सवारी पार्किङका हिसाबले यसलाई अन्डरग्राउन्ड बनाई यहाँ सर्वसाधारणका लागि सवारी पार्किङ सुविधा सम्बन्धित निकायले दिनु जरुरी छ। अहिले राजधानीमा जति पनि माग्ने, खाते, जँड्याहा, बेसहाराहरु छन्। यस्ताहरुका लागि सरकारले सुधार गृहहरुको तर्जुमा गर्नु जरुरी छ। यसबाहेक पशुहरुमा भुस्याहा कुकुर, साँढे, गाई तथा मन्दिरहरुमा बाँदरहरुको संख्या पनि निकै बढेको छ। यसको व्यवस्थापन पनि सरकारले नै गर्ने हो।

विडम्बना नै मान्नुपर्छ, यहाँ दुई वर्षअगाडि भुइँचालो आयो। यसले धेरै सम्पदाहरुमा क्षति पुर्यायो। तर यत्रो समय बित्दा पनि पुनःनिर्माण कार्य ढिला भइराखेको छ। सरकार किन सुस्त देखिराखेको छ ? त्यो बुझ्न गाह्रो भएको छ।

पहिलेको तुलनामा अहिले नगरपालिकाले हरप्रयासले राजधानीलाई सफा गरिराखेको छ। तर यो मुलुकमा एउटा खल्लो लागेको कुरा के छ भने, अझै पनि वधशालाको विकासबाहेक फोहोरबाट कम्पोस्ट मल बनाउने कारखाना खोल्न सकेको छैन। सम्बन्धित निकायहरु मौन छन्। न सरकारले यसप्रति कुनै कदम नै चालेको देखिन्छ। प्रायः यिनै हुन् राजधानीका रामकहानी। अब त संघीयता पनि आइसक्यो हाम्रो मुलुकमा। अब संघीयतामा काठमाडौंबाहेक अरु ६ वटा राजधानी थपिन्छन् र राजधानीहरुको नयाँ नामकरण गर्न जरुरी छ। सरकारले राजधानीको कसरी विकास गर्ने हो भन्ने कुरा अब यही राजधानीबाट शुरु गर्नुपर्छ, अन्यथा संघीयताको नखरा जनतालाई अपच हुनेछ, झुसिलो डकारजस्तै।

प्रतिक्रिया दिनुहोस्