ह्वाइट हाउसको २ सय वर्ष पुरानो रुख काटिने



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसस्थित करिब २ सय वर्ष पुरानो ऐतिहासिक रुख केही दिनमै काटिने भएको छ।

ज्याक्सन मेग्नोलिया रुख सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति रहेका एन्ड्रयु ज्याक्सनले आफ्नी पत्नीको सम्झनामा रोपेका थिए। यो रुख अमेरिकी इतिहासमा विशेष महत्त्व राख्छ। उक्त रुखको फेदमा कयौं ऐतिहासिक आयोजना भएका छन्। सन् १८२८ देखि १९८८ सम्म अमेरिकी २० डलरको नोटमा सोही रुख छापिएको थियो।

तर विज्ञहरूले अहिले उक्त रुखको अवस्था खराब रहेको र त्यसबाट असुरक्षा रहेको जनाएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले उक्त रुसको ठुलो हिस्सा हटाउन आदेश दिएकी छिन्।

ह्वाइट हाउसका प्रवक्ता स्टिफन ग्रिसमले भने– ‘ट्रम्पले रुख रहेको स्थानलाई जोगाइ राख्ने भएको छ। पछि सोही स्थानमा नयाँ रुख पुन रोप्न सकिनेछ।

मेलानियाले उक्त फैसला सुरक्षालाई ध्यानमा राखेर लिएको स्टिफनले बताए। किनभने उक्त रुखबाट ह्वाइट हाउसमा आउने आगन्तुक र प्रेस सदस्यको सुरक्षामा खतरा रहेको उनले बताए। यो रुख प्राय अमेरिकी राष्ट्रपतिको हेलिकप्टर उडान भर्ने स्थानमा रहेको छ।

मेग्नोलिया रुखले ह्वाइट हाउसमा ३९ राष्ट्रपतिको शासनकाल हेरिसकेको छ। यस अवधिमा अमेरिका २ गृहयुद्ध र २ विश्वयुद्धबाट गुज्रिसकेको छ। पूर्वअमेरिकी राष्ट्रपति क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले ट्विट गरी यति वर्षसम्म उक्त रुखको रेखदेख गर्नेहरूलाई धन्यवाद दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्