निर्वाचन आयोगलाई एमालेको ध्यानाकर्षण, प्रदेशसभामा समानुपातिकमा जाने ७५ जनाको सूचीको टुंगो लगायो



पुष्कर बुढाथोकी, भक्तपुर
नेकपा एमालेले छिटोभन्दा छिटो समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिणाम सार्वजनिक गरी सरकार निर्माणको प्रकृया सहज गराउन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो।

समानुपातिकतर्फको निर्वाचन परिणाम घोषणा नहुनु दुखद भएको ठहर गर्दै बैठकले यसकै कारण सरकार निर्माणमा अन्योल गराएको प्रति निर्वाचन आगोगको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो। यसका लागि निर्वाचन आयोगसमक्ष पार्टी प्रतिनिधि मण्डलले कुरा गर्ने बैठकले निर्णय गरेको छ।

नयाँ सरकार निर्माण, माओवादी केन्द्रसँगको पार्टी एकता र राष्ट्रियसभा गठनका विषयमा पार्टी एकता संयोजन समितिको बैठक छिट्टै बसी टुंग्याउने बारे बैठकमा छलफल भएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले भन्नुभयो, छिट्टै नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुन्छ, यस क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सकारात्मक कुराकानी भएको बारे अध्यक्ष ओलीले बैठकमा जानकारी गराउनुभएको छ।

उहाँले पार्टी एकता संयोजन समितिको बैठक भोलि या पर्सि बसेर एकता प्रकृयाका अरू सांगठनिक र राजनैतिक नेतृत्व व्यवस्थापनलगायतका कुरा छलफल गरी टुंगो लगाउने विश्वास व्यक्त गर्नुभयो।

बैठकले प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिकमा जाने ७५ जनाको सूचीको अन्तिम टुंगो लगाएको छ र सो सूची भोलि निर्वाचन आयोगमा बुझाउने बताउँदै सचिव भट्टराईले एमालेको प्रदेशसभामा प्रत्यक्षबाट १६८ जना र समानुपातिकतर्फबाट ७५ जना गरी २४३ जना सदस्यले प्रदेशसभामा प्रतिनिधित्व गर्ने बताउनुभयो।

दिउँसो डेढ बजेदेखि करिब ५ घण्टासम्म चलेको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवालीलगायत अधिकांश स्थायी कमिटिका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्