लगाउने र खोल्ने मात्र हैन



अहिले बजारमा लगाउने र खोल्नेको चर्चा छ। कुरो काठमाडौंको। महानगरपालिकाकी उपमेयर लगाउने, मेयर चाहिँ खोल्ने। ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्त्वर्पूण मानिएको रानीपोखरी पुनर्निर्माणमा सुस्तता छाएपछि मेयर र उपमेयरबीच ताला लगाउने र खोल्ने प्रतिस्पर्धा भएको छ।

पोखरी पुनर्निर्माणमा परम्परागत निर्माण सामग्रीको बदला सिमेन्ट र कंक्रिटको प्रयोग हुन थालेपछि उपमेयर हरिप्रभा खड्गीले मंगलबार पोखरीको मूल गेटमा ताला लगाइन्। त्यस लगतै मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले पोखरी पुगेर ताला फोडेको धरहराले देख्यो। केही महिनाअघि पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणका क्रममा समेत कंक्रिट प्रयोग भएको चर्चा भएको थियो। मन्दिर पुनर्निर्माण रोकिएको थियो।

अहिले फेरि पोखरीलाई घेर्न कंक्रिटको पर्खाल लगाउने⁄नलगाउने भन्ने विषयले उग्र विवाद लिएको छ। धरहराले भने रानीपोखरीको ऐतिहासिक र धार्मिक मौलिकता नमासिने गरी निर्माण कार्य अघि बढाउने सुझाव दिन्छ। शाक्य र खड्गीज्यू, ताला लगाउने र खोल्ने प्रतिस्पर्धा मात्र हैन, आफ्नो छोटो कार्यकालमा स्मरणीय सफलताको सूचि थप्ने प्रतिस्पर्धा पो गर्ने हो कि ? हैन भने अर्को चुनावमा जनताले ‘दुधको दूध पानीको पानी’ प्रष्ट रूपमा छुट्याउनेछन्।

प्रतिक्रिया दिनुहोस्