पेप्सीकोला–जडीबुटी सडक विस्तार, ३ वर्ष बित्दा पनि बनेन २० मिटर सडक



काठमाडौं, (नेस)
बीस मिटर सडक बनाउन कति समय लाग्ला ? बढीमा एक महिना वा दुई महिना। तर, राजधानीमा बीस मिटर सडक डेढ वर्ष बितिसक्दासमेत बन्न सकेको छैन। जडीबुटी–पेप्सीकोला सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भएको सडक खण्डको बीस मिटर सडक निर्माण नगर्न हानाथाप हुँदै आएको छ।

काठमाडौं महानगरपालिका–३२ को वडा कार्यालय अगाडि बीस मिटर सडक पिच नहुँदा त्यहाँबाट निस्कने धुलो पेप्सीकोला र जडीबुटीसम्म फैलिने गरेको छ। कार्यालय समयमा दैनिकरूपमा उक्त स्थानमा सवारी जाम हुने गरेको छ। सरकारले सडक निर्माणअन्तर्गतको कजवे निर्माणमा ध्यान नदिँदा ३ वर्षदेखि बीस मिटर सडक निर्माण नहुँदा यात्रु हैरान हुने गरेका छन्।

जडीबुटीका स्थानीय प्रदीप पुडासैनीले सरकारको लाचारीका कारण दैनिकरूपमा धुलोको मारमा परेको बताउँदै भन्नुभयो– ‘सडक बनेको २ वर्ष भयो, सबैतिर पिच भएको छ, बाँकी २० मिटरमा पिच नहुँदा व्यवसाय चौपट भएको छ।’
सडक विस्तारको क्रममा नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको कल्भर्ट निर्माण गर्ने बताएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बीस मिटर सडक पिच गर्न छोडेको थियो। तर, आयोजनाले छोडेपछि उड्डयन प्राधिकरणले अहिलेसम्म काम नै अगाडि बढाएको छैन। कल्भर्ट निर्माण नहुँदा सवारी दुर्घटनासमेत बढेको छ। समयमा नै कल्भर्ट निर्माण नहुँदा एक दर्जनभन्दा बढी सवारीसाधन दुर्घटना भएको स्थानीय पुडासैनीले बताउनुभयो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले कल्भर्ट निर्माणको काम नागरिक उड्डयन प्राधिकरणको भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सडक विस्तार आयोजना दोहोर्याएर बजेट आउँदैन, हामीले निर्माण गर्ने कुरा हुँदैन, बाँकी कल्भर्ट बनाउने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणको हो।’

काठमाडौं महानगरपालिका–३२ का वडा अध्यक्ष सवारीले आवत–जावत गर्न नै कठिन भएपछि आफूहरुले सडक विस्तार आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग तत्काल कल्भर्ट निर्माणका लागि पहल गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘नागरिक उड्डयन प्राधिकरणले शुरूमा ठेक्का सम्झौता गरेको ठेकेदारले समयमा नै काम नगरेपछि हाल उक्त ठेक्का रद्ध गरेर नयाँ ठेकेदार कम्पनीसँग सम्झौता भएको छ।’

नागरिक उड्डयन प्राधिकरणका प्रोजेक्ट डाइरेक्टर बाबुराम पौडेलल कल्भर्ट निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘कल्भर्ट निर्माणका लागि शुरुमा नै ठेक्का सम्झौता भएको थियो तर ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न नगरेपछि रद्ध गरेर अहिले पुनः नयाँ ठेकेदार कम्पनीसँग सम्झौता भएको छ। उहाँले आउने वर्षाअघि नै कल्भर्ट निर्माणको काम सम्पन्न हुने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्