पूर्वयुवराज्ञीद्वारा नर्भिकको अत्याधुनिक सेवाको उद्घाटन



नेपाल समाचारपत्र
काठमाडौं
नर्भिक इन्टरनेसनल हस्पिटलमा जडित अत्याधुनिक सुविधा सम्पन्न ३ टेस्ला एमआरआई सेवाको पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहले विशेष समारोहबीच बुधबार उद्घाटन गर्नुभयो। विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधि सम्पन्न १२८ स्लाइस एमआरआई तथा सीटीस्क्यान मेसिन अस्पतालले थप गरेको छ।

अत्याधुनिक सीटी स्क्यान र अत्याधुनिक एमआरआई सेवा थपिएपछि नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रूपमा परिणत गर्न सफल भएको जनाएको छ।

अस्पतालले जनाएअनुसार नेदरल्यान्डमा निर्मित ३ टेस्ला इन्जेनिया एमआरआईमा (इन–बोर) सुरूङभित्र श्रव्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, संगीत, मनपर्ने भिडियो आदि सुन्न⁄हेर्न सक्नेछन्। त्यसै गरी एमआरआई प्रक्रियाको चित्र अति विशिष्ट हुने उल्लेख गरिएको छ।

डरलाग्दो आवाज र झन्झनाहट नै एमआरआई गराउने बिरामीहरूले भोग्दै आएको समस्या हो। यसखाले एमआरआईको शुरूङभित्र झन्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर संगीत र मनमोहक भिडियो (श्रव्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्यारहित विश्वकै पहिलो एमआरआई भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब छैन।
यसमा निरन्तर श्रव्य–दृश्य हुने भएको हुँदा एमआरआई गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनोटको संगीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पङ्कज जलानले जानकारी दिनुभयो।

उहाँले थप्नुभयो– ‘यस एमआरआई प्रणालीमा रहेको स्वचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वास–प्रश्वास रोक्ने, एमआरआई टेबुलको चालबारे बताउने आदि गर्ने हुँदा स्क्यान गर्ने अवधि बढाइदिने र बिरामीको आरामदायिता तथा एमआरआईप्रति तिनको सहयोग पनि बढाउने हुँदा यसलाई पूर्ण आरामदायी मानिएको छ। उक्त सीटी स्क्यानमा ‘आइडोज ४’ प्रणाली रहेको हुँदा त्यसलाई विश्वकै उत्कृष्ट मध्येको एक मानिएको हो। यस सीटी स्क्यानमा अन्य सामान्य सीटी स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८०.० ले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन्। यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी⁄रोग पत्ता लागउन सर्वोत्कृष्ट भूमिका निभाउने डा.जलानले बताउनुभयो।

समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्यले आफू बिरामी नै नभै यो मेसिनभित्र पस्न पाउने भाग्यमानी व्यक्ति भएको बताउनुभयो। सद्भावना दूतका लागि कति मान्छेको लडाइँ हुन्छ। तर म बिरामी र मदनदाइ डाक्टर भएर यो मेसिनको बारेमा बोलेका छौं र हामी दुबै सजिलै एम्बेस्डर बन्यौं। यो मेसिन नेपालमा भित्रिएर नेपालबाट उपचारका नाममा बाहिरिने अर्बौ रूपियाँ रोकिने दाबी गर्नुभयो।

कार्यक्रममा बोल्दै नर्भिककी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पार्नुभयो। सो अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटल तथा लक्ष्मी बैंकद्वारा संयुक्तरूपमा शुरूआत गरिन लागिएको ‘नर्भिक–प्रिमिलेज डेविट कार्ड’को समेत शुभारम्भको सार्वजनिकीकरण बैंकका कार्यकारी अधिकृत सुदेश खालिङ् र अस्पतालका अध्यक्ष बसन्त चौधरीले गर्नुभएको थियो। खालिङले ‘नर्भिक प्रिभिलेज डेबिट कार्ड’ को आवश्यकता उपादेयता, उद्देश्य, सेवा, प्रयोग र सुविधा बारेमा जानकारी गराउनुभयो।

‘नर्भिक प्रिभिलेज डेविट कार्ड’ प्राप्त गर्ने महानुभावलाई नर्भिकले विविध स्वास्थ्य परीक्षण प्याकेजहरू, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, शल्यक्रिया तथा अन्य प्रक्रियाहरू, नन्–इन्भेसिभ कार्डियोलोजी सेवा, सीटी⁄एमआरआई र म्यामोग्राम सेवा तथा शैय्या शुल्कमा समेत छुट उपलब्ध गराउने जनाएको छ। समारोहमा हस्पिटलका अध्यक्ष चौधरीले प्रमुख अतिथि पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्