अझै व्यवस्थापन भएन विष्णुमतीको ढल



सुरेश तामाङ, काठमाडौं

विष्णुमती खोलाको संरक्षण र ढल व्यवस्थापन गर्ने भनेर ३ वर्षदेखि काम गरे पनि खोलामा ढलको अझै व्यवस्थापन हुन सकेको छैन। यस खोला आसपासका बस्तीबाट खोलामा सीधैं ढल मिसाउने कार्य पनि रोकिएको छैन।

खोला र ढलको व्यवस्थापन गर्ने काम आफैं अव्यवस्थित बन्दा नागरिकले अनाहकमा सास्ती खेपिरहेका छन्। खोलाको ढलको गन्ध त छँदै छ। सडक किनारमै थुपारिएको फोहोरको डंगुर, निर्माण सामग्री यत्रतत्र थुपारिँदा, ढल फुटेर सडकमै जतातेतै फैलिएको पानीले गर्दा सर्वसाधरणलाई झन् सास्ती मात्रै होइन जोखिम पनि बढाएको छ।

खोलाको किनारैकिनार टेकु पुलदेखि शोभाभगवती मन्दिर जाने बाटोको अवस्था यस्तै छ। बाटोको अवस्थाको बारेमा बयान गरी साध्य छैन। ३ वर्षदेखि खोला किनारको मोटर बाटोको अवस्था पनि दयनीय छ। यस मोटर बाटोको सुधार त परको कुराजस्तै भइरहेको छ।

स्थानीयले खोलाको काम दिक्कलाग्दो तरिकाले भइरहको बताएका छन्। ‘खोलाको काम दिक्कलाग्दो छ। व्यवस्थित तरिका अपनाएका छैनन्। ठेकेदारको मनपरी छ’, एक स्थानीयले भने– ‘ठेकेदारकै मनपरी र काम गराउने निकायको उचित अनुगमनको अभावका कारण हामीले प्रत्यक्ष सास्ती भोगिरहेका छौं।’

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलेले बाग्मती दोभानदेखि महादेवखोला दोभानसम्म ६ किमिको भाग विष्णुमती खोलालाई संरक्षण र ढलमुक्त पार्न काम गरिरहेको जनाएको छ।
६ किमिअन्तर्गत तल्लो र माथिल्लो भाग गरी ३–३ किमिको भागमा समितिले खोलाको संरक्षण र ढल व्यवस्थापनको ठेक्का दिएको थियो। हाल तल्लो भागमा लुम्बिनी, गौरीपार्वती, कोन्ट्रेक जेभी र माथिल्लो भागमा शर्मा, एपेक्स, कान्छाराम जेभीले काम गरिरहेका छन्।

आव २०७४⁄०७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएर आव २०७१⁄०७२ को ९ महिनापछि मात्रै खोलामा समितिले काम थालेको हो। लक्ष्य सकिनै लाग्दा पनि यस खोलामा लक्ष्यअनुसारको काम हुनसकेको छैन। हालसम्म जम्मा ५० प्रतिशत काम सम्पन्न भएको समितिले जनाएको छ।
बाँकी रहेको ३ महिनामा छुमन्तर जस्तो अर्काे ५० प्रतिशत काम सम्पन्न भएर यस खोलाको सम्पूर्ण काम सम्पन्न हुने संकेत पनि देखिँदैन किनकि यस भेगको ४⁄५ स्थानमा सुकुम्बासी बस्तीले खोला अतिक्रमण गरेर बसिरहेका छन्। बस्तीका कारण काममा अल्झन थप्नुले यो काम सम्पन्न हुन केही वर्ष पछि धकेलिने स्पष्ट देखाउँछ।

खोला किनारको सडकमा कतै हिलाम्मे छ भने कतै धुलाम्मे। कतै ढल फुटेर सडकमै पानी वालछ्याल भएको छ। कालोपत्रे पूरै उप्किसकेको अवस्था छ। खाल्डाखुल्डीको त कुरै छोडौं। यस सडक दूरावस्थालाई हेर्दा महानगरको सडक होइन कि कुनै दुर्गम सडकको याद आउन सक्छ, जो–कोहीलाई पनि।

खोलाको दुईतिर ढल हाल्ने, पर्खाल लगाउने, घाट र पुरातात्त्विक वस्तुको संरक्षण गर्ने समितिको योजना रहेको समितिका सूचना अधिकारी प्रभात श्रेष्ठले बताउनुभयो।

‘सडकको दुवैतिर ढल हाल्ने, ढललाई सुरक्षा गर्न पर्खाल लगाउने, घाट बनाउने र पुरातात्त्विक वस्तुको संरक्षण गर्नु हाम्रो काम हो। हामी त्यो निर्धारित समयभित्रै काम पूरा गर्छौं’ –समितिका सूचना अधिकारी श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार समितिले हालसम्म ८० प्रतिशत पर्खालको काम सम्पन्न गरिसकेको छ। भने ढलको काम भर्खरैजस्तो शुरु भएको छ। ढल हालसम्म ५ सय मिटरमात्रै राखेको छ।

१ अर्ब लागतको अनुमान गरिएको यस खोलाको संरक्षण र ढल व्यवस्थापनका लागि हालसम्म ५७ करोड खर्च गरिसकेको छ।
त्यस्तै समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले यस खोलामा निर्धारित समयमै सम्पन्न गर्ने हिसाबमा काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले सोचेको जस्तै काम भइरहेको छ। त्यसैले हामी निर्धारित समयभित्रै काम सम्पन्न गर्छौं।’

काम गर्दै जाँदा नागरिकले दुःख भोग्नुपर्ने बताउँदै उहाँले अब केही महिना स्थानीयले धैर्य गर्नुपर्नमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्