फेसन शोसँगै डीजे नाइट



ग्या
लेक्सी इभेन्ट म्यानेजमेन्टले क्रिसमसको अवसर पारेर डान्स र फेसनलाई एकसाथ फ्युजन गर्दै क्रिसमस नाइट, फेसन शो विथ डीजे शिवानी ओबरायको आयोजना गरेको छ।

पुसको चिसोसँगै छिप्पिँदै गएको रातलाई मोडलहरूले क्याटवाक र डीजेले डान्सबाट तताए। राजधानीको दरबारमार्गस्थित अन्पूर्ण होटलमा सम्पन्न क्रिसमस नाइट, फेसन शो विथ डीजे शिवानीमा आधा दर्जन सिक्वेन्समा विभिन्न फेसन पहिरन प्रदर्शन गरिएको थियो। बालबालिका र तन्नेरी पुस्ता गरी दुई चरणको फेसन शो भएको थियो। प्रारम्भिक र मध्य गरी दुई सिक्वेन्समा रिविया तण्डुकार, कृष्टिना पौडेल, युनिका पराजुलीसहित १६ बालबालिकाले सान्ता क्लज फेसन, पार्टी वेर फेसन, किड क्याजुअल फेसनजस्ता विविध फेसन पहिरन प्रस्तुत गरे। सुजाता राउत र सपना भेटवालले कोरियोग्राफीसहित बालबालिकालाई र्याम्पमा उतारेका थिए।

बेटल ग्यालेक्सीसँगै आयोजक पेज थ्री फेसनले विभिन्न चार सिक्वेन्समा आफ्ना सात दर्जन विविध डिजाइनका पहिरन र्याम्पमा उतारेको थियो। धिराज तण्डुकारले कोरियोग्राफी गरेको तन्नेरी पुस्ताको फेसन शोमा २५ महिला र पुरुष मोडलले क्याटवक गरी र्याम्पको फन्को मारे। उनीहरूले लेहेंगा चोली, पार्टी गाउन, वान पिस, सर्ट, स्कर्ट, सर्ट गाउन, क्याजुअल, सेरवानीजस्ता विविध फेसन प्रस्तुत गरेका थिए। त्यसै गरी मोडलहरू ममता बस्नेत, सरिता रामदान, अपेक्षा खड्का, परिश्मा दाहाल, शुभेच्छा केसी, शिल्पा सैजु, रबना तण्डुकार, धु्रव बुढाथोकी, प्रकाश शाह, राघव अग्रवाललगायतका मोडलले क्याटवाक गरेका थिए।

ओसिन सिटौलाले होस्ट गरेको फेसन शोको व्यवस्थापन मिस्टर एसिया प्यासिफिक इन्टरनेसनल अंकित तिवारीले गरेका थिए। फेसन शोका क्रममा गायक आनन्द कार्कीको गायन, महादेव त्रिपाठीको प्रहसनले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो। राति साँढे नौ बजे शुरु भएको फेसन शो मध्यरातसम्म चलेको थियो।

सोही कार्यक्रममा फेसन शोपछि भारतकी चर्चित डीजे शिवानी ओबरायले राति १ बजेबाट ४ बजेसम्म आफ्नो डिजेइङबाट दर्शकलाई निरन्तर नचाइन्। उनले चल्तीका हिन्दी र अंग्रेज गीतसँगै नेपाली गीतलाई मिक्स गरेर दर्शकलाई निरन्तर नचाएकी थिइन्। त्यसअघि राति १२ देखि १ बजेसम्म नेपाली डीजे सुरज र साइनले दर्शकलाई नचाएका थिए।

प्रतिक्रिया दिनुहोस्