तीन राप्रपालाई एकीकरणको दबाब



रामकृष्ण चापागाईं, काठमाडौं
कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)लाई पुनः एकीकृत गरी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न गर्न तीनै पार्टीको दोस्रो तहका नेताहरूले दबाब दिन शुरू गरेका छन्।

तीनवटै पार्टीका शीर्ष नेतृत्वले पार्टी एकीकरण गर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आलटाल गरेमा तीनवटै पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताले चौथो पार्टी गठन गर्नेदेखि अन्य पार्टीमा प्रवेश गर्नेसम्मको तयारीसमेत गरेका छन्। पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि पुराना नेताहरू सबै सल्लाहकारको भूमिकामा बस्नुपर्ने उनीहरूको माग छ।

पार्टी एकीकरण गर्न दबाब दिँदै दोस्रो पुस्ताका नेताहरूले तत्काल तीनवटै पार्टीको संयुक्त केन्द्रीय समिति तथा पदाधिकारीको संयुक्त बैठक राख्नुपर्ने र तीनवटै पार्टीको केन्द्रीय समिति, पदाधिकारी तथा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला नबोलाए असन्तुष्ट पक्षले सातै प्रदेशमा प्रादेशिक भेलाको आयोजना गरी चौथो पार्टी खोल्ने अथवा अन्य पार्टीमा प्रवेश गर्ने भन्ने बारेमा निर्णय गर्ने बताएका छन्।

यसअघि संसद्मा चौथो ठूलो दलका रूपमा रहेको राप्रपाले अहिलेको निर्वाचनबाट दलको हैसियतसमेत गुमाउन पुगेको छ। थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपाले २०७३ साल फागुनमा एकता महाधिवेशन गरी एकीकृत भएका थिए। त्यतिबेला लोहनी राणा नेतृत्वको राप्रपामा थिए।

महाधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको थियो। महाधिवेशनपछि महाधिवेशनबाट स्वीकृत विधानअनुसार र एकीकरण हुनुपूर्व शीर्ष नेताबीच भएको मौखिक सहमतिलाई उल्लंघन गरी अध्यक्ष थापाले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै डा. लोहनीले अध्यक्ष थापालाई ११ बुँदे पत्र लेखेर पार्टी परित्याग गरेका थिए। लोहनीले त्यसपछि अन्य नेताहरूसँग मिलेर नयाँ पार्टी राप्रपा (राष्ट्रवादी) गठन गर्नुभएको थियो।

गत फागुनमा भएको एकता महाधिवेशन पूर्वराप्रपाका शीर्ष नेताबीच पार्टीको अध्यक्ष थापा बन्ने र डा. लोहनीको नेतृत्वमा वरिष्ठ नेताहरूको ११ सदस्यीय नीति निर्धारण तथा निर्देशन समिति बनाउने भन्ने सहमति भएको थियो। यो निर्देशन समितिले पार्टी नीति बनाउने र पार्टीलाई समेत निर्देशन दिने उल्लेख थियो। यो समिति एकता महाधिवेशन सम्पन्न भएको एक महिनाभित्र बनाइसक्नुपर्ने भए पनि अध्यक्ष थापाले निर्देशन समिति गठन गर्न आलटाल गरेपछि डा. लोहनी बाहिरिएका थिए।

एकता महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा रहेका लोहनीलाई निर्देशन समितिको अध्यक्ष बनाउने भनेकाले उहाँले महाधिवेशनमा पार्टी अध्यक्षका लागि उम्मेदवारी दिनुभएको थिएन।

राप्रपाबाट लोहनी बाहिरिएपछि निर्देशन समितिको अध्यक्ष राणालाई बनाउनुपर्ने माग उठेको थियो। यही बीचमा अध्यक्ष थापाले पार्टीको सबै मनोनयन तथा नियुक्ति प्रक्रियामा पार्टीमा तथा शीर्ष नेताहरूबीच छलफल नै नगरी एकलौटी ढंगले अघि बढेको भन्दै राणासमेत असन्तुष्ट बन्नुभएको थियो। अध्यक्ष थापाले पार्टीलाई थाहा नै नदिई पार्टीभित्र कुनै छलफल नै नगरी उपप्रधान तथा स्थानीय विकास मन्त्री भएपछि राप्रपाभित्रको विवाद अझ चुलिँदै गएको थियो। अध्यक्ष थापाले स्थानीय निर्वाचन सम्पन्न गर्न सहयोग गर्नका लागि सरकारमा सहभागी भएको भने पनि सरकारमा सहभागी हुन पार्टीको माइन्युट नभएको नेताहरूले बताउँदै आएका थिए।

प्रथम चरणको निर्वाचनमा राप्रपाले नराम्ररी हारेपछि पार्टीभित्र अध्यक्ष थापाको राजीनामा अथवा निर्देशन समिति गठन गर्न दबाब बढेको थियो। अध्यक्ष थापालाई असन्तुष्ट पक्षले अध्यक्ष र संसदीय दलको नेताबाट समेत हटाउने रणनीति बनाउन थालेपछि एकलौटी ढंगले ४३ जना केन्द्रीय सदस्य मनोनित गरी सुरक्षित भएका थिए।

यहीबीचमा मधेसको माग सम्बोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव पारित गर्ने उद्देश्यले संसद्मा ल्याइएको बेला राप्रपाका १४ जना सांसद अनुपस्थित भएपछि राणाले पार्टी विभाजन गरी राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) गठन गर्नुभएको थियो।

विभाजित तीनवटै राप्रपा विभिन्न गठबन्धन गरी निर्वाचनमा गए पनि अपेक्षित नजिता ल्याउन नसकेपछि पुनः पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न असन्तुष्ट पक्षले प्रयास गरिरहेका छन्। राप्रपा (प्रजातान्त्रिक)का सहमहामन्त्री सुरेश आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार पुस मसान्तभित्र पार्टी एकीकरण गरी कार्यकारी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया अघि नबढे सातै प्रदेशमा असन्तुष्ट पक्षहरूको भेला आयोजना गरी अर्को पार्टी गठन गर्ने वा अन्य पार्टीमा प्रवेश गर्ने भन्ने निर्णय हुनेछ। तीनवटै राप्रपाका असन्तुष्ट पक्षले अन्य पार्टी प्रवेश गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा विवेकशील साझा पार्टीमध्ये रोज्ने बताएका छन्।

तीनवटै राप्रपा एकीकरण गरी पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा थापा नेतृत्वको राप्रपाभित्र नेताहरू महामन्त्री राजेन्द्र लिङदेन, धवल शमशेर राणा, जयन्त चन्द, लक्ष्मीप्रसाद संग्रौला, रमानन्द न्यौपाने तथा बुद्धिमान तामाङसमेत रहेका छन्।

राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)भित्र पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने पक्षमा नेताहरू सुनीलबहादुर थापा, रामकुमार सुब्बा, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुरेश आचार्य, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेतलगायत नेताहरू छन्। लोहनी नेतृत्वका राप्रपा (राष्ट्रवादी)मा स्वयं अध्यक्ष लोहनी नै नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पक्षमा रहेको बताइएको छ। साथै नेताहरू तारा लुइँटेल, श्याम केसी, रामु राई पनि तीन पार्टी एकीकरण गरी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्