झोलेसँगै यसरी थपियो मिस्टर



निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म झोले बनाउँदा नै यसको सिक्वेल बनाउनुपर्छ भन्ने सोचेका थिए त्यसका निर्माता टेकन खड्काले। त्यसका लागि निर्देशक खनाललाई नै निर्देशक लिन खोजेका थिए उनले, तर उनी अर्को प्रोजेक्टमा व्यस्त भएपछि टेकेन्द्रले रामबाबु गुरुङलाई लिएर त्यसको सिक्वेल बनाउने तयारी गरे।

सर–सल्लाह गर्दै जाँदा र स्क्रिफ्ट तयार गर्दै जाँदा झोले होइन, त्यसको अगाडि मिस्टर थपेर मिस्टर झोले बन्न पुग्यो। ‘कथावस्तु नै अर्कै भएपछि त्यसका कलाकार र पात्र पनि फेरिए। नायक दयाहाङ राईबाहेक सबैजसो कलाकार फेरिए’, आगामी पुस २८ गते अल नेपाल रिलिज हुन लागेको फिल्मका बारेमा निर्माता खड्का गफिए– ‘कतिपय ठाउमा मजाकमै योजना बन्दो रहेछ। त्यस्तै यो फिल्म पनि सिक्वेल बन्न गएन। यसरी भिन्न तरिकाले मिस्टर झोले बन्यो।’

निर्देशक गुरुङले प्रस्टइए– ‘राजनीतिक परिवर्तनपछि हाम्रो समाजमा त्यस्ता थुप्रै पात्रहरू जन्मिएका छन्, जो रोजगार पाएर पनि सन्तुष्ट छैनन्। यो बेरोजगारीको कथा होइन तर मिस्टर झोलेमा विदेश जान पनि मन नभएका र आफ्नो जागिरदेखि पनि सन्तुष्ट नभएका युवाहरूको सामान्य कथालाई फरकरूपमा प्रस्तुत गरिएको छ।’ उनले थपे– ‘यो झोलेको सिक्वेल त होइन, तर झोलेको फ्लेवर भने आउँछ नै।’ आफूले धेरै समय गाउँघरमै बिताएकाले गाउँघरकै कथालाई पर्दामा उतार्न सजिलो लाग्ने गुरुङले बताए। ‘वास्तवमा गाउँको कथा भन्नमा जति कन्फिडेन्ट आउँछ नि, त्यो कन्फिडेन्ट जेरी टाइपको फिल्मको शहरको कथा भन्नमा आउँदैन’ –उनले भने। फिल्ममा कथा, पटकथा र संवाद पनि निर्देशक गुरुङकै रहेको छ।

यसअगाडिको झोले बन्द घरभित्रको कथा भएकाले मिस्टर झोले त्योभन्दा फरक भएको अभिनेता दयाहाङ राईले बताए। ‘म ढुक्क थिएँ झोलेको सिक्वेल बने पनि नाममात्रको सिक्वेल हुनेछ भनेर। फिल्मको सिक्वेलमा सेटले दिने इम्प्रेसनलाई बचाइराख्न गाह्रो हुन्छ। सिक्वेलमा क्यारेक्टरलाई नै एक किसिमको प्रेसर हुन्छ। त्यही क्यारेक्टरलाई सिक्वेलमा उतार्न कठिन नै हुन्छ’ –उनले भने।

अर्का अभिनेता प्रवीण खतिवडाले फिल्मको सुटिङको क्रममा आफूले निकै सहज महसुस गरेको बताए। ‘सिटिङदेखि सुटिङसम्मको २ महिना निकै रमाइलोसँग बित्यो। दया दाइसँग त काम गरेको थिएँ, रामबाबु दाइसँग चाहिँ पहिलोपटक काम गरियो। उहासँग काम गर्नं सजिलो महसुस भयो। यसको अर्थ फिल्म पनि राम्रो बनेको छ’ –खतिवडाले भने। अर्का कलाकार विजय बराल पनि फिल्ममा काम गर्दा आफूले निकै रमाइलो अनुभव सँगालेको बताए। छायाँकार शैलेन्द्रध्वज कार्कीले पनि काम गर्न रमाइलो वातावरण भएको शेयर गरे। ‘उहाँको सेटमा लाइट इन्भारमेन्ट हुन्छ। उहाँ जहिले पनि आफू प्रिपिएर भएर आउनुहुन्छ। उहाँ जोक गरिरहनुहुन्छ क्याप्टेनले नै जोक गरेपछि हामीलाई काम गर्न झन् रमाइलो भइहाल्यो’, कार्कीले शेयर गरे– ‘उहाँले टीमका सबैलाई फुल्ली ट्रस्ट गर्नुहुन्छ यो किसिमको व्यवहार भएपछि हामी पनि हाम्रो डाइरेक्टर र प्रोड्युसरलाई बचाउनुपर्छ है भनेर अझ बढी सिरियस भएर काम गर्छौं। यिनै कारणले गर्दा पनि यो फिल्मको सुटिङ निर्धारित समयभन्दा अघि नै सकियो।’
टेकन खड्का तथा सिनेमा आट्र्सद्वारा निर्मित फिल्म मिस्टर झोलेको कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन्। फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, विजय बरालको अलावा बुद्धि तामाङ कमलमणि नेपाल, पुष्कर गुरुङ, सरोज अर्याल, दिया पुन, वर्षा राउत, अरुणा कार्की, लक्ष्मी बर्देवा, निरू खड्कालगायतले अभिनय गरेका छन्। फिल्ममा पाश्र्व संगीत रोहित शाक्य र सम्पादन निमेश श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्