नेपाली राजनीतिमा प्रतिशोधको यात्रा



शुकदेव थपलिया

राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो।’
पूर्व ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलको यो भनाइले राजनीतिभित्रको विकृतिका पराकाष्ठाहरूलाई उतार्ने प्रयत्न गरेको छ। पछिल्लो समय नेपाली राजनीतिसँग यो भनाइ मेल खाएको जस्तो आभास गर्न सक्छौँ। किनभने, जसले लगानी गर्न सक्छ, जसले जोखिम बहन गर्न सक्छ, उसैले मात्रै कमाइ गर्ने भन्ने सामान्यतः व्यापारको अर्थ हुन्छ।

राजनीतिलाई व्यापारको रुपमा हेरिनु भनेको हामी सबैको दुर्भाग्य हो। कमाउने दाउमा लाग्नेहरूले हरेक क्षेत्रमा रुपियाँ खोज्छन्, रुपियाँ देख्छन्। राजनीतिक क्षेत्रमा पनि यही सत्य साबित हुँदै गएको यथार्थ हामी सबैलाई विदितै छ। नेपालमा देखिएको प्रतिशोधात्मक राजनीतिभित्रको एउटा पाटो यो पनि हो।

मानिसहरू त्याग के कुरामा गर्न सक्लान् ? त्यागको राजनीतिले हाम्रो समाजमा कस्तो डेरा जमाएको छ ? कुनै व्यक्ति साँच्चै मनदेखि राष्ट्रप्रेम र हितको पक्षमा छ भने त्यो व्यक्ति पनि यही समाजबाट आएको हो। उसलाई खराब गर्न धेरै ठूलो योजना बनाइरहनु नै परेन। एउटै कुराले फसाउन तल्लीन हुन्छन् मानिसहरु, त्यो हो रुपियाँ। मानिस फस्न सिर्फ लोभ, लालच नै काफी छन्। मानिसका आकांक्षा र चाहनाहरू असीमित हुन्छन्। उसले हरेक काममा क्रोध, लोभ, मोहजस्ता विषयहरूलाई नै आफ्नो मार्ग बनाएको हुन्छ भने त्यहाँ कसरी राम्रो, असल, कुशल व्यक्ति भेटिएला ? कसरी मनमा शुद्धता फेला पर्ला ? अझै इष्र्या र प्रतिशोध त यस्तो हतियार हो जसले जुनै बेला पनि मानवताको नातासमेत बिर्सन सक्छ।

सत्य कुरा तितो र पचाउन साह्रै गाह्रो पर्छ। यथार्थमा सत्य यस्तो शक्ति हुन्छ कि चाहे त्यो संसारको सबैभन्दा ठूलो धनवान्, बलवान् वा गुणवान् होस्, त्यसलाई पनि जित्न सक्ने तत्व भनेकै सत्य र यथार्थ नै हो। समय लाग्ला, कुर्दा कठिन परिस्थितिहरूका सामना गर्नुपर्ला तर अन्तिमसम्म सहनशील र धैर्यलाई अपनाउने हो भने हरेक क्षेत्रमा व्यापाररुपी दबदबाहरू रोकिन कुनै समय लाग्दैन भन्ने तर्क हो। नसकिने त होइन, नहुने त होइन। तर एउटा भासमा भासिइसक्यो देशको राजनीतिक गाडी। यसरी देशका लागि घात गर्ने पनि व्यापारिक शैलीमा छिरेर राजनीति गर्नेले नै हो। नेपालमा यस्तो विकृति मौलाउँदो पनि छ। प्रहरीको फरार सूचीमा रहेकाहरू प्रतिशोधस्वरुप राजनीतिक यात्रामा छन्।

एउटा उदाहरण यो पनि हुनसक्छ कि कैलालीको त्यो कालो दिन, ०७२ भदौ ७ गते। कैलालीको टीकापुर, जहाँ नाबालकसहित सात प्रहरीको बर्बरतापूर्ण सामूहिक हत्या भएको धेरै समय भएको छैन। आज सोही घटनामा संलग्न भएको भन्दै प्रहरीको सूचीमा फरार रहेका रेशम चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट विजय हासिल गरेका छन्। अब उनको जनमतलाई विश्लेषण गर्नुपर्ने समय आएको छ। उनको जितको पछाडि के छ ? यदि प्रहरीले दोषी प्रमाणित गर्ने आधार भेटेकै हो भने उनले किन यसरी राजनीति गरिरहेका छन् ? कैलालीबाट पाएको उनको जनमतलाई राज्यले कसरी लिने ? थारु समुदायमाथि राज्यको नियत गलत भनेर खुलेआम भाषणबाजी भइरहँदा देशको न्याय कुन दुलामा पसेको छ ? लोकतन्त्रमा अभिव्यक्त गर्ने अधिकार सबैमा छ भन्दैमा डा. सिके राउतजस्ताले देश टुक्र्याउने अभिव्यक्ति दिनु लोकतन्त्रको कुन पक्ष हो ?

टीकापुरको जस्तो घटना देशको हितको पक्षमा कदापि हुन सक्दैन। यदि चौधरीले आफूले सो घटना नगराएको हो भने वास्तविक कुरा के थियो ? चौधरीकै शब्दमा अझै किन निर्दाेष थारुहरू थुनिएका छन् ? यो प्रश्नको जवाफ कसले कहिले दिने ? यदि रेशम दोषी नै हो भने उनलाई किन राजनीतिक संरक्षण छ ? किन उनको राजनीतिक यात्राको सारथी अरु कोही भइरहेको छ ? उनले पाएको मतलाई राज्यले प्रतिशोधको जनमत भन्ने वा राज्य नै समुदायप्रति गैरजिम्मेवार छ भन्ने ? यदि रेशमको ठाउँमा अरु कुनै दलका जो–कोहीले चुनाव जितेको भए त्यति बेला त्यहाँको स्वरुप कस्तो हुन्थ्यो ? जनमत ल्याउनै हुँदैन, रेशमले जित्नै हुँदैन भन्ने सवाल होइन, तर तत्कालीन घटनासँग राजनीतिक परिस्थिति कसरी गाँसियो भन्ने हो। रेशमबारे उठेका सवालहरू के होलान् ? भन्ने आशंका हो। अब मानवीय हक, अधिकार र लोकत्रान्त्रिक व्यवस्थाबारे प्रश्नहरू खडा हुन थालेका छन्। अब यो विषयबारे तर्क गर्ने हो भने, प्रतिशोधको भावनास्वरुप उठेको जनमत मान्ने हो भने, लोकतन्त्रमा निरंकुशता हाबी भएको मान्न सकिन्छ। राज्यले सहर्ष स्वीकार गर्दा त्यो घटनामा पीडित भएकाहरूबारे जवाफ के हुनसक्ला ? बहस पैरवीले लोकन्तान्त्रिक अभ्यासलाई व्याख्या गर्ने यस्तै जटिल परिस्थितिमा हो।

हिजो सोही घटनामा मानौं प्रहरीको सट्टा प्रतिरक्षामा सोही ठाउँका सयौं सर्वसाधारण मारिएका भए राज्यविरुद्धको क्रोध अझै कुन स्थितिमा पुग्ने थियो ? हामी सोच्नसमेत सक्दैनौँ। आखिर किन यस्तो हुन्छ ? कसैलाई सिध्याउने खेलमा राजनीतिक यात्रामा जो–कोही होमिन्छ भने त्यसबाट घात राष्ट्रलाई बाहेक अरू कसैलाई हुनै सक्दैन। घातक त्यति बेला हुन्छ जति बेला कसैले प्रतिशोधमा आफ्नो पदवी बिर्सन्छन्। सिर्फ व्यक्तिवादी सोचलाई नै मूल्य दिन्छन्। आफू बलवान् महसुस गर्दै सत्ता र शक्तिहरूको चरम दुरुपयोग गर्न थाल्छन्। गल्ती अञ्जानमा हुनसक्छ। जानाजानमा गरेका हर्कतहरूलाई दुस्साहस मान्न किन के सोच्नुपर्ने ?

खोलो तर्दा लौरो बिर्सने प्रवृत्ति नेपाली राजनीतिको पुरानो विशेषता हो। यस सन्दर्भमा कुरा गर्दा प्रतिशोधमा लाग्नेहरूसँको पनि खास सम्बन्ध रहेको कुरा हामीले बझ्नु जरुरी छ। खोलो तर्दा लौरो पनि सँगसँगै तर्नुपर्छ तर त्यसलाई प्रयोग गर्नेले माथि उकालो पनि हुनसक्छ, बीचमा जंगली जनावरहरू पनि हुन सक्छन्। लौरोको फेरि आवश्यकता पनि पर्न सक्छ। लौरोसँगको सम्बन्ध यात्रामा नङ–मासुको जस्तै परिपूरक हो भन्ने कुरा भुलिदिँदा आज राजनीतिक अस्थिरताले देशलाई यति पछाडिसम्म धकेलेको छ कि हामी खाली एक गाँस, एक बास र एक सरोको सेरोफेरोबाहेक कतै माथि चढ्न भ्याएका छैनौं। दुनियाँ पृथ्वीबाहेकका विकल्पको खोजीमा पुगिसकेको छ। यसतर्फ विचार गर्ने फुर्सद कसलाई यहाँ ?

प्रतिशोधमा निरंकुशता लुकेको हुन्छ। प्रतिशोधको भावना देशको लागि नै घातक हो। व्यक्तिगत जीवनमा त यसको असर झन् भयंकर हुन्छ। यसमै राजनीतिक लगानी गरिन्छ भने प्रतिशोधले कस्तो रुप लेला ? यो सोचनीय विषय हो। समानता, न्याय र समतामूलक समाजलाई लोकतन्त्रले अवलम्बन गरेको छ। देशको सर्वोच्च अदालत र जनमतबीचको शीतयुद्धले कुन निकाय शक्तिशाली हो भन्ने प्रतिस्पर्धा गरिरहेको छ। पूर्वडीआईजी नवराज सिलवाल पनि अर्का एक पात्र हुन्।

हालैको चुनावमा उनी पनि विजयी भए। उनले गरेको गल्तीबारे सर्वोच्चले बोल्नु कुनै नौलो कुरा होइन तर जनमतको शक्तिसँग पहिलेका गल्ती अनि आगामी दिनमा हुनसक्ने गल्तीहरू कसरी छुपिन्छन् भन्ने कुरा बहसको विषय हो। हुन त यहाँ यस्ता विषयहरू खन्दै जाने हो भने दैलोदेखि चुल्हो हुँदै ढुकुटीसम्म पुग्नेछ। तर पनि भित्रको केही मारेर दैलोमै गलत कुरा रोक्न सकिन्छ भने त्यो किन नगर्ने ?

कसैले उक्सााएको भरमा, कसैले तर्साएको डरमा, कसैले कुनै समयको बदला लिने–दिने दौरानमा, कोहीलाई शासन गर्दै कमाएर मोज गर्ने दाउमा, यस्तै–यस्तै पेरिफेरिमै झुमेको नेपाली राजनीतिक संस्कार कहिले फेरिएला ? हिजो पनि पैसावाल अगाडि हुन्थे, आज पनि तिनै पैसावालहरूले व्यापारस्वरुप नाफाघाटाको राजनीति शुरु गर्दै छन्। त्यसका लागि नेपालका हरेक दलमा करोडौँ लगानी गर्नेहरूको मोह छरपस्ट छ। तर राजनीतिमा पैसा होइन इमान, सम्मान र भावी सन्ततीले पनि सम्झनलायक कार्य गर्नु महत्वपूर्ण कुरा हो। नीति, विचार र सिद्धान्त व्यावहारिकतामा लागू हुँदैनन् भने त्यस्ता औचित्यहीन राजनीति कसैले कसैको लागि कहिल्यै नगरे पनि हुन्छ। किनभने त्यो एक न एक दिन पराजय हुने नै छ। बस्, समयसँग ढिलो चाँडोको कुरा मात्रै हो। सुकर्म, सत्कर्म सधैँ सबैको मर्ममा भएका छन् भने प्रतिशोधहरूलाई एक न एक दिन परास्त अवश्य गर्नेछ भन्नेमा सबैले विश्वासका साथ अघि बढ्नु हामी जनता, प्रतिनिधित्व गर्नेहरू र सहकार्य गर्नेहरूले कहिल्यै भुल्नुहुँदैन। अहिलेको तत्कालीन टड्कारो आवश्यकता यही हो, जसले दीर्घकालीन मार्गमा अवश्य सफलता प्राप्त गर्नेछ। लमतन्नतन्त्रका राजनीतिहरूलाई प्रतिरोध गर्ने हो भने प्रतिशोधहरूको पहिचान हुनै पर्छ।

प्रतिक्रिया दिनुहोस्