धरहराको धोको



सोमबार विश्वव्यापी रूपमा इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमस चाड मनाइएको छ। यही पर्वको अवसरमा एक आपसमा खुसीयाली साटासाट गर्दै शुभ–कामना आदान–प्रदान भइरहेको छ। क्रिसमसको मुख्य दिन हिजो सोमबार भएपछि केही दिन अझै क्रिसमस स्मरण गरिन्छ।

सानो तर धेरै धर्मावलम्बी अटाएको मुलुक नेपालमा समेत यस्तै खुसीयाली आदान–प्रदानको कार्यक्रम चलिरहेको छ। कुनै एक हिन्दू, बौद्धमार्गी, मुसलमानलगायत अन्य धर्म मान्ने साथी–भाइले क्रिश्चियन दाजु–भाइ, दिदी–बहिनीलाई दिल खोलेर ‘मेरी क्रिसमस’, ‘ह्याप्पी क्रिसमस’ भनिरहेको सुन्दा⁄देख्दा धरहरा गजक्क पर्या छ।

इसाई धर्मावलम्बीहरू पनि खुसी देखिएका छन्। चार जात छत्तीस वर्णको फूलबारी भनिएको नेपालको वास्तविक प्रतिबिम्ब यस्तै व्यवहारले झल्किँदो रहेछ। अब केही साता र केही महिनाभित्रमा मनाइने सरस्वर्ती पूजा, फागुपर्वजस्ता हिन्दूका चाडपर्व होस् या, बुद्धजयन्तीमा नै किन नहोस्, यस्तै शुभकामना इसाईले बाँड्न सक्नुपर्छ। नेपालका लागि अमेरिकी राजदूत एलाएना वी टेप्लिजले गत दशैंमा निधारमा रातो टीका र जमरा लगाएर जसरी खुसीयाली साटिन् त्यस्तै खुसीयाली अरूले पनि साटेको हेर्ने धोको धरहराको छ।

प्रतिक्रिया दिनुहोस्