चार महिनामा साढे ५७ अर्बको शेयर सूचीकृत



नेपाल समाचारपत्र
काठमाडौं
पुँजी बजारमा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५७ अर्ब ६० करोड रुपियाँको शेयर सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १९ अर्ब ६३ करोड रुपियाँ बराबरको हकप्रद शेयर, १ अर्ब ५६ करोडको साधारण शेयर, १ अर्ब २७ करोडको बोनस शेयर र ३५ अर्ब १४ करोड रुपियाँ बराबरको सरकारी ऋणपत्र सूचीकृत भएका हुन्।

राष्ट्र बैंकका अनुसार यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या १९७ मा सीमित भएको छ। गत वर्षको सोही अवधिमा २२३ कम्पनी रहेकामध्ये बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको हो। सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनीसमेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत् कम्पनी ४⁄४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।

त्यस्तै नेप्से सूचकांकमा वार्षिक बिन्दूगत आधारमा १२ दशमलव ५ प्रतिशतले घटेर २०७४ कात्तिक मसान्तमा १ हजार ४ सय ८९ दशमलव १ बिन्दूमा झरेको छ। गत वर्षको कात्तिक मसान्तमा उक्त सूचकांक ५५ दशमलव ५ प्रतिशतले वृद्धि भई १७०१ दशमलव ९ बिन्दू पुगेको थियो। गत असार मसान्तमा भने नेप्से सूचकांक १,५८२ दशमलव ७ बिन्दू कायम भएको थियो।

त्यस्तै वार्षिक बिन्दूगत आधारमा धितोपत्र बजार पुँजीकरण ८ दशमलव ६ प्रतिशतले घटेर कात्तिक मसान्तमा १,७२८ अर्ब ६८ करोड रुपियाँ कायम भएको छ। बजार पुँजीकरण अनुपात २०७३ कात्तिक मसान्तमा ६३ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो। बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८२ दशमलव ७ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४ दशमलव ७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २ दशमलव ५ प्रतिशत, होटलहरूको १ दशमलव ६ प्रतिशत, व्यापारिक संस्थाहरूको शून्य दशमलव १ प्रतिशत र अन्यको ८ दशमलव ४ प्रतिशत रहेको छ।

कात्तिकसम्ममा कुल शेयर कारोबार रकममा १९ दशमलव ६ प्रतिशतले ह्रास आएको छ। २०७३ कात्तिकमा २७१ दशमलव ४ प्रतिशतले वृद्धि भई १२ अर्ब २३ करोड पुगेको शेयर कारोबार रकम समीक्षा अवधिमा ९ अर्ब ८३ करोड रुपियाँमा सीमित हुन पुगेको छ। नेप्सेमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दूगत आधारमा ३३ दशमलव ५ प्रतिशतले बढेर २०७४ कात्तिक मसान्तमा ३०३ अर्ब ३० करोड रुपियाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्