पुनर्निर्माणमा पानीको अभाव, पानी खेप्दै घर बनाउँदै भूकम्पपीडित



नानीराम नेपाल, सिन्धुपाल्चोक
चौतारा साँगाचोकगढी नगरपालिका–१२ की रीता गिरीका लागि बिहान ३ बजे नै बिउँझनुपर्छ। नत्र त पानी नै खान नपाइएला भन्ने पीर। सबेरै कुवामा नपुगे एक गाग्री पानीका लागि घण्टौं लाइनमा बस्नुपर्छ, पालो पर्खिएर। त्यसो त भूकम्पअघि पनि खानेपानीको अभाव नै थियो। तर वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान भूकम्पले च्याप्पै सुकाइदिएपछि साँगाचोकका ४ सयभन्दा बढी घरपरिवार खानेपानी अभावको चपेटामा छन्। ‘पहिलेदेखि नै समस्या थियो, भएको मुहान पनि भुइँचालोले लग्यो’, रीता भन्छिन्– ‘आधा घण्टा हिँडेर कुवामा पुग्यो, पालो पर्खिएरै बिहान जान्छ।’ ‘बिहान ६ बज्नुअघि नै पँधेरो (कुवा)मा पुग्दा रित्ता गाग्रीहरूको लाइन लामै भइसकेको हुन्छ’, उनी थप्छिन्– ‘कोही त ३ बजे नै पँधेरोमा पुग्छन्।’

साँगाचोक कोल्टा गाउँको सुख्खा डाँडो। उसै त पानीको हाहाकार हुने ठाउँ। त्यसमाथि पनि भूकम्पमा पानीका मुहान हराएपछि यस भेगका स्थानीयले भूकम्पपछिका साढे दुई वर्ष खानेपानीकै चरम समस्या झेले। भूकम्पले बस्तीनजिकका पानीका मुहान सुकाइदिएपछि साँगाचोक कोल्टा, रानाथोक र खर्कका ४ सय घर परिवारलाई पानीको अभाव टार्न यतिबेला हम्मे हम्मे परिरहेको छ। ‘खानेपानी नै छैन, पानी नहुँदा घर बनाउन समस्या परिरहेको छ’, कोल्टाका स्थानीय जयराम गिरी भन्छन्– ‘कि त धेरै तलबाट पानी खेप्नुपर्छ कि त किन्नुपर्छ, घर बनाउनका लागि पानीको जोहो गर्नै गाह्रो भयो।’ केही दिन अघिदेखि घर बनाउन शुरू गरेका जयरामले चार हजार रुपियाँ तिरेर दुई हजार लिटर पानी किन्नुपरेको गुनासो गरे। ‘बरु पैसा जोड्न सकियो, तर पानीको जोहो गर्न नसक्ने भएँ।’ –उनी थप्छन्।

खानेपानीकै अभावमा छटपटाइरहेका भूकम्पपीडितका लागि घर ठड्याउन पनि पानीको समस्या बिकराल बनिरहेको छ। पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता लिए पनि अधिकांश लाभग्राहीले पुनर्निर्माण शुरू गरेका छैनन्। निर्माण सामग्रीको चर्को मूल्य र कामदार अभावको अवस्था एकातिर छ, अर्कातिर पानीकै अभावका कारण पनि पुनर्निर्माणमा ढिलाइ भइरहेको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का वडाध्यक्ष धु्रवराज गिरी बताउँछन्। ‘खानलाई नै पानी छैन, घर बनाउन पानी कहाँबाट ल्याउनु?’, वडाध्यक्ष गिरी भन्छन्– ‘पानीको ठूलो समस्या भएपछि हामीले लिफ्ट बोरिङ प्रविधिबाट कोल्टा गाउँमा पानी तान्न लागेका छौं।’ शनिबारदेखि कोल्टामा लिफ्ट बोरिङको काम शुरू भएको र केही दिनमै पानीको अभाव सुल्झाउन आफूहरू लागिपरेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्