प्रतिनिधिसभा समानुपातिकको नतिजा एक सातामा ?



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतलाई परीक्षण गर्ने कार्य बढीमा एक साता लाग्ने जनाएको छ।

१ सय ६५ निर्वाचन क्षेत्रबाट अधिकृतले हस्ताक्षर गरी पठाएको विवरण रुजु गरी प्रमाणीकरण गर्न पाँचदेखि बढीमा सात दिने लाग्ने आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।

उहाँले मत परीक्षण कार्य सकिएपछि चाँडै सिट बाँडफाँट गर्ने तयारीमा आयोग रहेको जानकारी दिनुभयो। मत परीक्षण कार्य सकिएपछि सिट सार्वजनिक हुने कि नहुने प्रश्न राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

नेकपा एमालेका नेताहरूले एकपछि अर्को गर्दै राष्ट्रियसभा गठन नभए पनि प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाब दिँदै आएका छन् भने राष्ट्रियसभा गठन नभएसम्म संघीय संसद्मा महिलाको प्रतिनिधित्वको विषय अड्किएकाले परिणाम घोषणा गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा आयोगले मौनता साँध्दै आएको छ।

राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम घोषणा गर्न नमिल्ने हो त भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले घुमाउरो पाराले संविधान र कानुनबमोजिम आयोग अघि बढ्ने बताउनुभयो।

प्रवक्ता ढकालले आयोगले आफ्नो गतिमा काम अघि बढाएको उल्लेख गर्दै आयोग कसैको दबाब र प्रभावमा परेर काम नगर्ने बताउनुभयो। आयोगले मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिररहेको बताए पनि मत रुजु गर्ने काम सकिएपछि सार्वजनिक गर्ने कि नगर्ने भन्ने बारेमा आयोग द्विविधामा परेको छ। तत्काल परिणाम सार्वजनिक गर्ने कि नगर्ने आयोगलाई प्रक्रियागत समस्या भएको छ। प्रवक्ता ढकालले अन्तिम परिणाम कहिले सार्वजनिक गर्ने भन्ने विषयमा स्पष्ट रूपमा खुलाउन चाहानुभएन।

वाम गठबन्धनले राष्ट्रियसभा गठन नभए पनि प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाब दिँदै आएका छन् भने राष्ट्रियसभा गठन नभएसम्म संघीय संसद्मा महिलाको प्रतिनिधित्वको विषय अड्किएकाले परिणाम घोषणा गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा आयोगले केही कुरा सार्वजनिक गरेको छैन।
संविधानको धारा ८३ मा संघीय संसद् भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा भएको उल्लेख छ।

धारा ९३ मा प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र संघीय संसद्को बैठक आह्वान गर्ने र ९५ मा संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्