अलैचि पछि चिराइतोको पनि विक्रि मुल्य घट्यो, कृषक संकटमा



रविन भट्टराई, ताप्लेजुङ । पुर्वी पहाडि जिल्लाहरुमा बढि उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु थप मारमा परेका छन् । अलैचिको मुल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढि उत्पादन हुने नगदेबालि चिराईतोको पनि मुल्य घटेपछि कृषकको आय आर्जनमानै कमि आएको छ ।

अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमि आएको ताप्लेजुङका चिराईतो व्यवसायी कैलास बानियाँले बताए । दुई वर्षअघि प्रतिमन ३२ हजार रुपैयाँसम्म खरिदबिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन ८ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो ।

यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको बानियाँको भनाई छ । यो वर्ष प्रति मन पाँच हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसको मुख्य बजार चीन र भारतमा व्यापार रोकिए पछि बंगलादेश निर्यातमा पहल नहुँदा कारोबार रोकिएको व्यापारीहरुको भनाई रहेको छ ।

एक वर्ष अघि सम्म अन्य बजारमा भन्दा चिनको तिब्बतमा यसको मुल्य उच्च हुँदा पुर्वका सबै चिराईतो ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चिन निकासी भएको थियो । सो समयमा तिब्बतमा प्रति मन ५० हजार सम्ममा कारोबार भएको व्यापारीहरु बताउँछन् ।

चिराईतो भारत र चिन लगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ । महत्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन् । चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, ईलाम, तेह्रथुम लगायतका कृषक घरमै थन्काएर राख्न बाध्य भएका छन् ।

चिराईतोको भाउ बढ्दै जाँदा कृषकले यसको पनि व्यवसायीक खेति सुरु गरेका थिए । उत्पादन बढे पनि माग घट्न थालेपछि व्यावसायिक चिराइतो खेतीमा लागेका पुर्वि जिल्लाका करिब पाँच हजार कृषक अन्योलमा परेका छन् ।

ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ । समुन्द्री सतहबाट करिव १२ सय देखि ३ हजार मिटर उचाईसम्म पाईने चिराईतो एक किसिमको जडिबुटी हो ।

आषाढ–श्रावणदेखि असोज सम्ममा यसको फूल फुल्छ । फूल परिपक्व भएपछि बोटै उखेलेर चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नु पर्दछ ।

आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी कृमि नाशक, ज्वरान्तक, घाउ, खटिरा, स्वाद र रुची बढाउने औषधि बनाउन प्रयोग गरीन्छ भने औलोको ज्वरोमा पनि यो निकै उपयोगी हुने आयुर्वेदीक चिकित्सकहरु बताउँछन् । यसबाट चिनमा सिटामोल लगायतका औषधि बनाईने गरेको स्थानीय व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्