जाडोयाममा अस्थायी टहरामै भुकम्प पीडित



पुष्कर बुढाथोकी, भक्तपुर । सूर्यविनायक नगरपालिकाका बासिन्दाले राष्ट्रिय भूकम्प पुर्ननिर्माण प्राधिकरण भक्तपुरका प्रमुख र ईन्जिनियरलाई अनुदान सम्झौता भएपनि अनुदान नपाएको गुनासो गरेका छन् । सूर्यविनायक नगरपालिका ७ गुण्डुमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजना तथा मानव अधिकार सञ्जाल भक्तपुर र गुण्डु वडा नं. ७ कार्यालयको सहकार्यमा सम्पन्न भूकम्प पीडितका लागि राहत तथा पुर्ननिर्माणको सवाल विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भूकम्प पीडितले अनुदान नपाएको गुनासो राखेका थिए ।
सहभागि अधिकांश भूकम्प पीडितले अनुदान सम्झौता भएपनि रकम नपाएको, ईन्जिनियर नआउँदा समस्या भोग्नु परेको, गुनासो फाराम भर्दा पनि वास्तविक पीडित छुटेको गुनासो राखेका थिए । स्थानीय कविता थापामगर, सुनिता केसी, डल्ली श्रेष्ठ, झुनु खड्का, अप्सरा राजभण्डारी लगायतका सहभागिले अनुदान सम्झौता भएपनि अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेको भन्दै सोध्नुभयो–“हाकिम साहेब, सम्झौता सकिएको दुई महिना बित्न लागिसक्यो, हामीले अनुदान कहिले पाउँछौ ।”
जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो । चिसो मौसम सुरु भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको पीडितको भनाई छ ।जाडोयाम सुरु भएसँगै जस्ताको अस्थायी टहरामा शीत चुहिने, जमिनको चिसो बढेर बिरामी समेत हुन थालेको भूकम्पपीडित सिपाडोलका रामबहादुर लामा बताउनुहुन्छ । आर्थिक अभाव, नक्सापास, मापदण्ड, जग्गाको स्वामित्व नहुनुका कारणले समयमै घर निर्माण गर्न नसकेको गुनासो भूकम्पपीडितहरु राख्छन् ।
भूकम्प गएको ३१ महिना लाग्दा समेत सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित जस्ताको टहरामा नै जीवन गुजारिरहेका छन् । अहिले सबै क्षेत्रका भूकमपीडितहरु चिसोमा कष्ठकर जीवन बिताउदा समेत सरकार मौन छ । भूकम्पपीडित चिसोको त्राससँगै जोखिममा रात बिताउन बाध्य छन् । घर भूकम्पले भत्काएपछि पाल टाँगेर बसदै आएका सयाँै मानिस सडकमा गुड्ने चिसोसँगै हावाहुरी र पानीको त्रासमा रात गुजार्ने गरेका छन् । न शरीर तन्काएर सुत्न सकिन्छ, न त आनन्दले निदाउनै सकिन्छ, भुकम्पपीडित लालबहादुर श्रेष्ठले भन्नुभयो‘ त्रासले निद्रा लाग्दैन भने चिसोले त्यतिकै सताएको छ ।’
खाली ठाउँ नपाएपछि बाध्य भएर सडक किनारमा बस्दै आएका सल्लाघारीका पीडितको गुनासो र वास्तविकता कम पीडादायक छैन । ओत लाग्ने पाल र राहतसमेत नपाएको उनीहरुले गुनासो गरेका छन् । कतिपय पीडितहरु राहत सामग्री नपाएकोमा गुनासो गर्दैनन् तर पाल पाइदिए हुन्थ्यो भन्ने उनीहरूको एउटै माग रहेको छ । २०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन् । हिमाली क्षेत्रमा वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन् । चिसो मौसम मध्य भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको भक्तपुरका पीडित बताउँछन् ।
गुण्डुकी कैलाश थापामगरले घर भत्किएर सेतो, रातो परिचय पत्र पाएपनि अनुदानबाट बञ्चित गरिएको बताउनुभयो भने प्रभाकर राजभण्डारीले भूकम्पले आफ्नो घर चिराचिरा परेपनि भूकम्प पीडितको नामबाटै हटाएर अनुदानबाट बञ्चित गरिएको बताउनुभयो ।स्थानीय जयश्वरी नगरकोटीले भूकम्पले संगै भत्किएको दाजुको परिवारले अनुदान पाएपनि आफुले भने अनुदान नपाएको बताउँदै गुनासो फाराम भर्दा पनि सम्बोधन नभएको बताउनुभयो ।
स्थानीय सविता थापामगरले घर भत्किएर टछहरामा बस्दै आएपनि आफ्नो नाम पीडितको सूचीमा नपर्दा अनुदान नपाएको बताउनुभयो । उहाँले भन्नुभयो–“कि त भूकम्पले तेरो घर भत्किएको होईन भन्नुपर्यो कि त गुनासो फाराम भरेकु छु अनुदान दिनुपर्यो, पक्षपात किन ।”कार्यक्रममा अनुदान पाएकाले पनि नगर।पालिकाले नक्सा पास नगरिदिदाँ दोश्रो किस्ता नपाएको गुनासो गरेका थिए । स्थानीय राजु खत्री, दुर्गा बहादुर देउबन्जार, लक्ष्मण धौबन्जार, प्रदिप घिमिरे लगायतले १३ फिटको बाटो छैन भन्दै गोरेटो बाटोमा नगरपालिकाले नक्सा पास नगरिदिदाँ घर बनाउन र अनुदान लिन नपाएको गुनासो राख्नुभयो ।
कतिपयले भने भूकम्प पुर्ननिर्माण प्राधिकरणले खटाएको ईन्जिनियर अझै पनि गाउँमा नआएको र बोलाउँदा ट्याक्सी लिएर लिन र पुर्याउन आउँ भन्ने गरेकाले पनि काम गर्न नपाएको गुनासो गरेका थिए । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले गुण्डुमा १ हजार ४८३ भूकम्प पीडितले रातो कार्ड पाएपनि २९९ घर अनुदान पाउनबाट छुटेपछि वडा कार्यालयले समन्वय गर्दै अगाडि बढेको बताउनुभयो । पुनः सर्वेक्षणमा भूकम्प पीडित भनेर गएका ४६ वटा फाईल फिर्ता आउँदा समस्या परेको बताउँदै सधियारको सहमति ल्याएमा भूकम्प पीडितको हकमा गोरेटो बाटोमा पनि नक्सा पास गर्न सकिने बताउनुभयो ।
यस क्षेत्रमा ४०० वटा भूकम्प पीडितको घर नक्सा पास नभई बनेकाले समस्इा परेको बताउँदै वडामा खटिर्एका ईन्जिनियर तीन महिनादेखि नगरपालिकामा हाजिर गरेर बस्ने र वडामा फर्केर नआउने गर्दा समस्या परेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय भूकम्प पुर्ननिर्माण प्राधिकरण भक्तपुरका प्रमुख शिवराम गेलालले सम्झौता भएपनि कागजपत्र नपुगेकाको फाईल फिर्ता हुने र कागजी प्रक्रिया पुगेपछि अनुदान सम्झौता हुने बताउँदै सम्झौता भएकाको केहीदिन भित्रै बैंकको खातामा पैसा जाने बताउनुभयो ।
भूकम्प पीडितले आगामी असार मसान्तसम्म तेश्रो किस्ता समेत लिईसक्नु पर्ने बताउँदै गतमंसिरसम्म पनि गुनासो फाराम नभरेकाको हकमा अब केही गर्न नसकिने बताउनुभयो । कार्यक्रममा मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्याल, ईन्सेक भक्तपुर प्रतिनिधी सविना केसी लगायतले भूकम्प पीडितको समस्यालाई सरोकारवाला निकायले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
भुकम्प गएको ३१ महिना भईसक्दा पनि पुर्ननिर्माणले गति लिन नसक्दा यो जाडोयाममा भक्तपुरका धेरैजसो पीडित अस्थायी टहरामै बस्न बाध्य छन् । निजी आवास पुर्ननिर्माणका लागि पहिलो किस्ता पाए पनि अरु पैसाको अभावका कारण घर बनाउन नसक्दा भक्तपुरका भूकम्प पीडितले यस पटकको जाडोयाम अस्थायी टहरामै बिताउनु परेको सिपाडोल ठुलेगाउँका आइते तामाङ्गले बताउनुभयो ।
भक्तपुरमा भुकम्पले २७ हजार ६ सय ४४ परिवार पूर्णरुपमा घरवारबिहिन भएका थिए । जिल्लामा अहिलेसम्म पहिलो किस्ता २२ हजार २ सय ३१ लाभग्राही, त्यस्तै घर निर्माण सुरु गरेर १ हजार ४ सय ५ लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरेका छन् भने घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ताको रकम लिने लाभग्राहीको संख्या भने ३ सय ६२ मात्र रहेको राष्ट्रिय पुननिर्माण कार्यालय भक्तपुरले जनाएको छ । टहरामा दुईवटा चिसो काट्यो, यो वर्ष पनि सकसमा बाँच्नुपर्ने स्थिति रहेको छ । पुनःनिर्माणका लागि सरकारले समेत एकमुष्ट रकम नदिँदा यस्तो समस्या भएको भूकम्पपीडित बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्